
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङदी नदीमा खसेको बस निकाल्न सडक बन्दगरी काम भइरहेको छ ।
गत शुक्रबार पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय बस नदीमा खसेको थियो । बस निकाल्न आज बिहान ६ बजेदेखि सडक अवरुद्ध गरी काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बिहान १० बजेसम्म सडक अवरुद्ध गर्ने भनिएकामा काम नसकिएकाले अझै दुई घण्टा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।
'बस निकाल्ने काम भइरहेको छ, हालसम्म सफल भएका छैनौँ । बिहान १० बजेसम्मको समय निर्धारण गरिएकामा बस निकाली नसकिएकाले अझै दुई घण्टा सडक सञ्चालन गर्न सक्ने अवस्था छैन,' उनले भने ।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते १६ जनाको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।