०२ असार २०८३, मंगलबार

अब सरकारभन्दा संगठन निर्माण र विचारको विकास गर्नतर्फ लाग्छौं– प्रचण्ड

भदौ १०, २०८१
कास्की
अब सरकारभन्दा संगठन निर्माण र विचारको विकास गर्नतर्फ लाग्छौं– प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको प्राथमिकता सरकारमाभन्दा संगठन निर्माण र विचारको विकास भएको बताएका छन् ।

कास्कीको पोखरामा यही भदौ ९ गतेदेखि शुरू भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठक समापनका क्रममा सोमबार अध्यक्ष दाहालले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता/कार्यकर्तालाई निर्देशन दिए ।

'हामी सरकारको जोडघटाउमा लाग्ने होइन, अरूले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ । अबको कार्यभार पार्टी र विचारको विकास गर्नेगरी लाग्ने हो', उनले भने । 

अध्यक्ष दाहालले माओवादी केन्द्र अहिले पनि देशको महत्वपूर्ण शक्ति रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा र अहिलेका उपलब्धिको रक्षा अन्य दलबाट सम्भव नरहेको बताए ।

उनले भने, 'परिवर्तनका उपलब्धिलाई उल्टाउने षड्यन्त्र भइरहेको छ । त्यसमा हामी सबै सजग हुनुपर्दछ । आवश्यक परेको खण्डमा पुनः संघर्षमा उत्रिएर भए पनि परिवर्तनलाई जोगाउनु पर्दछ ।'

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै १२ बुँदे सहमति करिब अन्त्य हुन लागेको र देश नयाँ ठाउँमा जान लागेको अध्यक्ष दाहालले बताए ।

उनले पार्टीलाई एकताबद्ध बनाउँदै समाजवादी क्रान्तिका लागि तयारी गर्नुपर्नेमा जोड दिए ।

'अहिले समाजवादी क्रान्तिका लागि वस्तुगत आधार तयार भएको छ । त्यसका लागि पहिलो सर्त पार्टीभित्रको एकता हो', उनले भने ।

सो बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्निप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, हरिबोल गजुरेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्