१२ असार २०८३, शुक्रबार

जर्मनीले अफ्रिकालाई मंकीपक्सविरुद्धको एक लाख खोप सहयोग गर्ने

भदौ ११, २०८१
काठमाडौं
जर्मनीले अफ्रिकालाई मंकीपक्सविरुद्धको एक लाख खोप सहयोग गर्ने

जर्मनीले अफ्रिकाका मंकीपक्स (एमपक्स)बाट पीडित देशहरूलाई एक लाख खोपको खुराक दान गर्ने जनाएको छ । सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेटले पत्रकारहरूलाई खोपहरू जर्मन सैन्य स्टकहरूबाट आउने र ‘छोटो अवधिमा’ उपलब्ध गराइने बताए । 
    
उनले यसको उद्देश्य ‘अफ्रिकी महादेशमा एमपक्स नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूको ऐक्यबद्धतामा समर्थन गर्नु भएको बताए ।

रक्षा मन्त्रालयलका अनुसार उक्त कदमबाट जर्मनीले आफ्नो करिब सबै एमपक्स खोप भण्डार अर्थात करिब एक लाख १८ हजार खुराक दान गर्नेछ ।

जर्मनीले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)लाई वित्तीय सहयोग प्रदान गर्नुका साथै गाभी भ्याक्सिन अलायन्समार्फत् अफ्रिकामा साझेदारहरूलाई सहयोग गरिरहेको हेबेस्ट्रेटले बताए ।

मध्यम अवधिमा जर्मनीले अफ्रिकी सङ्घलाई स्थानीय खोप उत्पादन स्थापनार्थ सहयोग गर्न युरोपेली साझेदारहरूसँग काम गर्नेछ ।

डब्लुएचओले यस महिना प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट अन्य अफ्रिकी राष्ट्रहरूमा एमपक्स केसहरूको वृद्धिलाई विश्वव्यापी स्वास्थ्य आपत्कालीन घोषणा गरेको छ । सङ्गठनले खोपको उत्पादन र साझेदारीका लागि पनि आह्वान गरेको छ ।

प्रभावित देशहरूलाई एक लाख एमपक्स खोप खुराक दान गरिरहेको फ्रान्सले गत हप्ता घोषणा गरेको थियो । अमेरिकाले कङ्गोलाई ५० हजार खोप दान गर्ने बताएको छ ।

उक्त भाइरस सम्पूर्ण कङ्गोमा फैलिसकेको छ । यस वर्ष हालसम्म कङ्गोमा पाँच सय ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । बुरुन्डी, केन्या, रुवान्डा र युगान्डा जस्ता अन्य देशमा जुलाईदेखि प्रकोप रिपोर्ट गरिएको छ । युरोपमा पहिलो केस यस महिनाको सुरुमा स्विडेनमा रिपोर्ट गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्