
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफ्नो सरकार सात समुन्द्र पारिबाट ढालिएको भन्ने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भनाइप्रति कटाक्ष गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद खतिवडाले प्रचण्ड सरकार फाइल खोल्दा ढल्यो कि सात समुन्द्र पारिबाट भन्ने प्रश्न गरेका हुन् ।
‘पूर्वप्रधानमन्त्रीले पदाधिकारी बैठकमा सात समुन्द्र पारिबाट आफ्नो सरकार गिर्यो भन्नु भएछ, कोही फाइलले हट्यो भन्ने कोही सात समुन्द्र पारिबाट हट्यो भन्ने, के भएको हो ? संसद्लाई जानकारी गराइयोस्,’ खतिवडाले भने ।
साउन २६ गते पार्टी पदाधिकारी बैठकमा प्रचण्डले आफ्नो सरकार सात समुन्द्र पारिबाट ढालियो बताएका थिए ।
रामहरिले प्रश्न गर्दा संसद बैठकमा उपस्थित प्रचण्ड मुस्कुराएका थिए ।