०५ साउन २०८३, मंगलबार

वाणिज्य बैंकहरूले काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत कायम गर्नुपर्ने

भदौ १२, २०८१
काठमाडौं
वाणिज्य बैंकहरूले काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत कायम गर्नुपर्ने

वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षमा काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । 

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षमा काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको हो । 

वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८०/८१ देखि क्यापिटल एडुक्वेसी फ्रेमवर्क २०१५ मा व्यवस्था भएबमोजिम काउन्टर साइक्लिकल बफर कायम गर्नुपर्ने व्यवस्था रहेको थियो । 

जसअनुसार वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८०/८१ को अन्तसम्म अर्थात् गत असार महिनासम्म काउन्टर साइक्लिकल बफर ०.५ प्रतिशत काम गर्नुपर्ने व्यवस्था थियो । 

त्यस्तै, २०८४ असार मसान्तसम्ममा देहायबमोजिम न्यूनतम् १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवं मझौला उद्यमका क्षेत्रमा (२ करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रूपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत) प्रवाह गर्नुपर्ने निर्देशन बैंकले दिएको छ । यसअघि यो सीमा एक करोडभन्दा कम रकमका मझौला, लघु, घरेलु तथा साना कर्जामा थियो ।

काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत कायम गर्नु भनेको बैङ्कहरूले अतिरिक्त पैसा कोषको रूपमा राख्न नपर्ने हो । अर्थात् भविष्यमा आउन सक्ने संकट अथवा अनियन्त्रित सम्भावनालाई मध्यनजर गर्दै बैङ्कहरूले राख्नुपर्ने थप जगेडा कोष नै काउन्टर साइक्लिकल बफर हो । 

काउन्टर साइक्लिकल बफरले देशको अर्थतन्त्रमा आइपर्ने आकस्मिक अथवा अस्वाभाविक सङ्कटलाई कम गर्न अथवा धान्न बैङ्कहरूले आफ्नो प्रोभिजन बाहेक राख्नुपर्ने थप जगेडा पुँजी हो । जुन बासेल ३ ले नै व्यवस्था गरिदिएको छ ।

कमेन्ट गर्नुहोस्