१२ साउन २०८३, मंगलबार

कोशी अस्पतालका अध्यक्ष र मेसुलाई स्वास्थ्यमन्त्रीको चेतावनी– चिनजानका मान्छे भर्ती गर्ने काम बन्द गर्नू

भदौ १३, २०८१
विराटनगर
कोशी अस्पतालका अध्यक्ष र मेसुलाई स्वास्थ्यमन्त्रीको चेतावनी– चिनजानका मान्छे भर्ती गर्ने काम बन्द गर्नू

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कोशी अस्पतालका अध्यक्ष र मेडिकल सुपेरिटेन्डेन्ट (मेसु)लाई चिनजानको भरमा चिकित्सक र कर्मचारी नियुक्ति नगर्न चेतावनी दिएका छन् ।

कोशी अस्पताल विकास समितिका अध्यक्ष डा फरवार्ड सिलवाल र मेसु डा रविराज सिंहलाई अगाडि राखेर उनले बिहीवार यस्तो चेतावनी दिएका हुन् ।

कोशी अस्पतालमा क्यान्सर रोगको सेवा बिस्तारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा मन्त्री पौडेलले चिनजानका भरमा चिकित्सक र कर्मचारी राखेर शक्तिकेन्द्र नबनाउन सम्झाए । उनले विज्ञापन गरेर खुला प्रतिस्पर्धाबाट मात्रै चिकित्सक र स्वास्थ्यकर्मीहरू नियुक्त गरिनुपर्ने बताए । 

‘अध्यक्ष र मेसु पनि यही हुनुहुन्छ । दुवै जनालाई म भन्छु– तपाईँहरूसँग चिनजान छ भन्दैमा कसैलाई भर्ती नगर्नुहोस् । त्यस्तो भर्ती गर्ने काम आजैबाट बन्द गर्नुहोस् । विज्ञापन गरेर मात्रै खुला प्रतिस्पर्धाबाट चिकित्सक नियुक्ति गर्नुहोस्,’ उनले भने,’ मेरै मान्छे भए पनि खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नुहोला ।’

मन्त्री पौडेलले न्यूनतम् नियमको पालना गरेर काम गर्न पनि निर्देशन दिए । ‘नियमभन्दा बाहिरको कुरामा मेरो पनि निर्देशन नमान्नुहोस्,’ उनले थपे, ‘जनताको पहिलो प्राथमिकता औषधि, उपचार हो । त्यही ठाउँ सिस्टममा चलेन भने कहीँ पनि चल्दैन ।’

मन्त्री पौडेलले अस्पताल विकास समितिको आम्दानी तथा खर्चमाथि पनि प्रश्न उठाए ।  खर्चको पारदर्शी हिसाबकिताब जनतालाई दिनुपर्ने उनको भनाइ थियो । 

कोशी अस्पताल लथालिङ्ग अवस्थामा देखेको बताउँदै मन्त्री पौडेलले यसलाई कमाइ खाने थलोको रूपमा विकास नगर्न पनि आग्रह गरे । 

अस्पतालका अध्यक्ष र मेसुले नेपाली कांग्रेसका नेताको निर्देशन भन्दै परीक्षा नलिई गत भदौ २ गते सुटुक्क चिकित्सक छनोट गरेका थिए । 

अध्यक्ष सिलवालको अध्यक्षतामा बसेको बैठकले ६ जना विशेषज्ञ र ३ जना मेडिकल अधिकृत नियुक्त गरेको थियो । सरकारी दरबन्दीबाट करारमा ९ तहमा कार्यरत चिकित्सकलाई १ तह घटुवा गरेर अस्पताल विकास समितिमा नियुक्ति दिइएको थियो । प्रक्रिया नपुर्याइ नियुक्ति दिइएको भनेर यसको विरोध भएको थियो । समितिमा नियुक्ति दिइएका कर्मचारी करारकै भएपनि हटाउन नमिल्ने अवस्था छ । त्यही भएर अस्पतालमा अध्यक्ष र मेसुले त्यहाँ चिनजानका मानिसलाई ल्याएका थिए । 

कोशी अस्पतालका चिकित्सक नियुक्तिमा भएको बेथितिबारेमा लोकान्तरले समाचार प्रकाशन गरेको थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्