नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दुई–तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् ।
बिहीवार धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले सरकारको शुरूवाती दिन हेर्दा राम्रो लक्षण नदेखिएपछि दुई–तिहाइको अंहकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सम्झाएको बताए ।
‘दुई–तिहाइको अंहकार नदेखाउनोस् भनेर सम्झाएको मात्र छु,’ उनले भने, ‘उहाँहरूले अलि बढी गर्न थाल्नु भो भने भ्रष्टाचारकाविरुद्ध हामी सडकमा आउँछौं ।’ आफ्नो नेतृत्वको अघिल्लो सरकारले शुरू गरेको भ्रष्टाचारविरोधी अभियान नरोक्न पनि प्रचण्डले सचेत गराए । ‘दुई–तिहाइको घमण्ड नगर्नाेस्, तपाईँहरू सुध्रिनुहोस्, राम्रो कामको समर्थन नै हुनेछ । तर तपाईँहरूको लक्षण राम्रो गर्नेजस्तो देखिएको छैन । गल्ती गर्दै गए प्रतिपक्षले छाड्ने छैन, अहिले बेलैमा सचेत मात्रै गराइएको हो ।’
अहिले दुई–तिहाइका नाममा संविधान संशोधनको विषय ल्याउन खोजिएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संविधान संशोधनका नाममा समावेशी, समानुपातिक व्यवस्थामा घात हुन्छ कि भन्ने शंका पैदा भएको बताए । ‘उहाँहरू संविधानमा माओवादी देख्नुहुन्छ, समावेशी भने पनि माओवादी, समानुपातिक भने पनि माओवादी, दलित, महिला, मुस्लिम भने पनि माओवादी, गणतन्त्र भने पनि माओवादी,’ उनले थपे, ‘अहिले दुई–तिहाइ भनेर संविधान संशोधन गर्ने कुरा ल्याउनुभएको छ । परिवर्तनका एजेन्डा जति माओवादीका भएकाले हामीलाई देखाइदिने नाममा जनतामाथि नै घात गर्ने खतरा आए हामी सडकबाट प्रतिवाद गर्नेछौं ।’
दुई ठूला पार्टी डराएर मिलेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले संसदीय अभ्यासमा पहिलो र दोस्रो ठूलो पार्टी मिल्ने अभ्यास कहीँ नभएको पनि बताए । ‘दुई ठूला पार्टी मिल्न नहुने हो तर भ्रष्टाचारविरोधी अभियानका कारण गराएर उहाँहरूले गर्न नहुने काम गर्नुभएको छ,’ उनले भने, ‘उहाँहरूले भन्ने गरेको संसदीय व्यवस्थामा पहिलो र दोस्रो पार्टी कतै मिल्दैनन् । कांग्रेस आई र भाजपा मिलेर सरकार बनाउने कुरा चल्छ त भारतमा ? बेलायत, अमेरिका कतै यस्तो देखिँदैन ।’ कही नहुने काम कांग्रेस र एमालेले गरेको टिप्पणी गर्दै प्रचण्डले संविधानमाथि घात हुन नदिने बताए ।
उनले वर्तमान सरकार निर्माणमा माफियाको भूमिका रहेको उल्लेख गर्दै सरकार निर्माण हुनुअघि वार्ता, सहमति कहाँ र कसका घरमा भए भन्ने विषयले पनि सरकार निर्माणमा विचौलियाको भूमिका के छ भनेर प्रष्ट देखिने बताए । ‘सरकार हटाउन भएका बैठकका घर हेर्नोस्, हस्ताक्षर कहाँ गएर गर्नुभो, त्यो घरका मालिक हेर्नोस्,’ उनले थपे, ‘त्यसबाट थाहा हुन्छ बिचौलियाले के भूमिका निर्वाह गरे भनेर ।’
अर्को प्रशंगमा प्रचण्डले भ्रष्टाचारका विषयमा मुद्दा चलाउन पाँच वर्षे हदम्याद लगाउनु हुँदैन भन्नेमा माओवादी स्पष्ट रहेको बताए । कांग्रेस पनि त्यसको विपक्षमा उभिने उनको विश्वास छ ।
उनले माओवादीको प्रदेश परामर्श बैठकले नयाँ एकताको भाव पैदा गरेको बताए । पार्टी फुट र विवाद हल्ला निराधार रहेको स्पष्ट गर्दै उनले बरु विगतमा विभाजन भएका माओवादी पार्टीहरूसँग एकताको तयारी भइरहेको बताए । प्रचण्डले सुदूरपश्चिमको संसदीय दलमा देखिएको विवाद पनि परामर्श बैठकबाट समाधान भएको जानकारी दिए । पार्टीले यसअघि गरेको सर्कुलर अब कार्यान्वयनमा जाने जानकारी दिँदै अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्य खगराज भट्टलाई नै दलको नेता बनाउने पार्टी निर्णय रहेको बताए ।