१९ असार २०८३, शुक्रबार

गृहमन्त्रीको चेतावनी– चाडपर्वमा कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि सह्य हुँदैन

भदौ १३, २०८१
काठमाडौं
गृहमन्त्रीको चेतावनी– चाडपर्वमा कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि सह्य हुँदैन

गृहमन्त्री रमेश लेखकले चाडपर्व लक्षित कृतिम अभाव, कालाबजारी, मुल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री–वितरण नियन्त्रण गर्न निर्देशन दिएका छन् । चाडपर्वलक्षित सहज आपूर्ति व्यवस्थापन र प्रभावकारी बजार अनुगमनसम्बन्धी विषयमा सरोकारवालासँगको छलफलमा उनले यस्तो बताएका हुन् ।  

‘कृतिम अभाव, कालाबजारी, मुल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री–वितरण नियन्त्रणका लागि हामी सहयोगी हुनसक्छौं । चाडपर्वको बेलामा दैनिक उपभोग्यका सामग्रीको सहज र सरल पहुँच हुनुपर्यो,’ उनले भने । 

यसपालिको चाडपर्वमा तीन–चार कुरामा परिणाम देखिने गरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन थियो ।  

‘कृतिम अभाव कुनै हालतमा पनि हुन भएन । कृतिम अभाव देखाउने कुरा कुनै हालतमा सह्य हुँदैन,’ उनले भने, ‘त्यसका लागि हेर्ने निकाय को हेर्नुपर्याे । त्यसमा गृह मन्त्रालयले पूरा–पूर सहयोग गर्छ ।’ 

दशैँ–तिहारका बेला एकैरातमा हुने मुल्यवृद्धिलाई सुक्ष्म ढंगले हेरेर नियन्त्रण गर्न गृहमन्त्री लेखकले निर्देशन दिए । 

‘मुल्यवृद्धिको उचित कारण हुनुपर्यो नि ! उही सामान एक दिनअघि एउटा मूल्य छ, अर्को दिन अर्को मूल्य हुन्छ । यो विषयलाई सबैले गम्भीरताका साथ लिएर परिणाम आउने गरी काम गर्नुपर्याे,’ उनले भने, ‘गुणस्तरहीन खाद्यवस्तुहरू बिक्री चाडबाडमै गरिन्छ । गुणस्तरहीन वस्तु उपभोक्ता कहाँ पुग्ने यही बेला हो । यसलाई कडाइका साथ हेर्न जरुरी छ ।’

सरोकारावाला पक्षमा समन्वय हुँदा परिणाम दिन सकिने बताउँदै गृहमन्त्री लेखकले चाडपर्वपछि बस्ने अर्को बैठकमा त्यसको मूल्यांकन हुने बताए । ‘गृह मन्त्रालय एकातिर, बाणिज्य मन्त्रालय एकातिर, अनुगमन एकातिर, गुणस्तर नापजाँच एकातिर भयो भने राम्रो हुँदैन । एकीकृत रुपमा काम गर्नुपर्याे,’ उनले भने, ‘अहिले छलफल भएका विषयमा कसलाई कहाँनिर सहयोग चाहिन्छ । तम्तयार भएर सहयोग दिनुहोस् । परिणाम आउने गरी काम गर्नुहोस् । चाडपर्वपछि आजको छलफलमा भएका कुराको मूल्यांकनका लागि हामी फेरि बैठक बस्छौं ।’

छलफलमा गृहसचिव एकनारायण अर्यालले सरकार भनेको प्रहरी भएको बताउँदै बजार अनुगमनमा तीव्रता दिनुपर्नेमा जोड दिए । उनले बाणिज्य विभागले सबै सहाय जिल्ला अधिकारीसँग जुम मिटिङ गरेर बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए । यसपालि दशैँमा सुपथ पसल बढाइने जानकारी दिँदै उनले कालोबजारी गर्नेमाथि निर्मम भएर कारबाही गरिने चेतावनी दिए ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण संरक्षण विभागका महानिर्देशक राजन पौडेलले छलफलमा बजार अनुगमनको अवस्था, बजार अनुगमनको अपेक्षा, अत्यावश्यक दैनिक खाद्य तथा उपभोग्य वस्तुहरूको आपूर्तिबारे जानकारी गराएका थिए । 

यस्तै बजार अनुगमनको दोहोरोपना हटाएर सरकारले मूल्य निर्धारणको हक राख्नुपर्नेमा सरोकारवालाहरूको जोड थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्