
नेपाल सरकारका एक काबिल सचिव एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल गृह मन्त्रालयको सचिव रहेका अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । मुख्यसचिव बन्न योग्य सचिवमध्येबाट कार्यक्षमताको आधारमा अर्याललाई जिम्मा दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
स्थायी सरकार भनिने निजामती प्रशासनको नेतृत्व गर्ने जिम्मा पाएका अर्याल कर्मचारी वृत्तमा निर्भीक, स्वच्छ छविका एवं हक्की प्रशासकको रूपमा परिचित छन् ।
गृह मन्त्रालयको सचिव बन्नुअघि नै उनले विभिन्न जिम्मेवारीमा आफूलाई खरो साबित गरिसकेका छन् ।
निजामती सेवामा निर्भीक, इमानदार र निर्णय क्षमताको सवालमा अग्रपङ्क्तिमा अर्यालको नाम आउँछ ।
झन्डै साढे ५ महिना गृह प्रशासनको नेतृत्व गर्नुअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव थिए । त्यो बेला उनले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनामार्फत ७२ दरबन्दी कटौतीको योजना तयार गरेका थिए ।
प्रधानमन्त्री कार्यालयलाई चुस्त बनाउने गरी दरबन्दी कटौतीमार्फत आर्थिक दायित्व घटाउने कामको सुरुआत अर्यालले गरेका थिए । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको बेलामा उनले कयौँ सुधाका काम थालेका थिए ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव हुनुअघि काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा उनले काम गरेका थिए । महानगरमा रहँदा अनावश्यक भत्ता, सुविधा र खर्च नियन्त्रण एवं कटौती गरेर राज्य कोषको रकम बचाएका थिए ।
अनलाइनबाट राजस्व सङ्कलन, घरको नक्सा डिजिटालाइजेसन, विभागीय प्रमुखहरूसँग कार्यसम्पादन करारजस्ता प्रमुख काम उनले महानगरपालिकामा रहँदा गरे । अर्यालकै पालामा महानगरको आफ्नै भवन निर्माण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको थियो ।
सचिव हुनुअघि अर्याल भारतको कलकत्तामा नेपाली महावाणिज्यदूत थिए । महावाणिज्यदूत छँदा उनले सुरु गरेको ‘इलेक्ट्रिक कार्गो ट्र्याकिङ सिस्टम’को चौतर्फी प्रशंसा भएको थियो ।
गृह मन्त्रालय मातहत रहेर लामो समय सेवा गरेका अर्यालले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा काम गरे । जहाँ–जहाँ सीडीओ भएर गए, त्यहाँ अर्यालले केही न केही सुधार र सकारात्मक परिवर्तनका काम गरेका थिए ।
२०७२ सालको भूकम्पका बेला उनी काठमाडौँको सीडीओ जिम्मेवारीमा थिए । भूकम्पका बेला कालोबजारी गरी बजारमा अभाव सिर्जना गर्ने उच्च घरानाका व्यापारीको गोदाममा छापा मारी लुकाएर राखेको खाद्य सामग्री जफत गर्नुका साथै व्यापारीमाथि मुद्दा चलाउने काम पनि अर्यालले गरेका थिए ।
व्यापक दबाबका बाबजुद कालोबजारीमा संलग्न उच्च घरानाका व्यापारीमाथि कारबाही अघि बढाएपछि अर्यालको प्रशंसा चुलिएको थियो ।
ढिलासुस्तीमा तल्लीन कर्मचारीमाथि शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, फाइल अड्काएर दुःख नदिने, निर्णय क्षमता भएका निर्भीक एवं इमानदार प्रशासकका रूपमा उनी परिचित छन् ।