२७ जेठ २०८३, बुधबार

पुनर्निर्माण सम्पन्न भएको एक वर्षमै पशुपतिनाथको महास्नानघर भासियो

भदौ १४, २०८१
काठमाडौं
पुनर्निर्माण सम्पन्न भएको एक वर्षमै पशुपतिनाथको महास्नानघर भासियो

वि. सं २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त पशुपति क्षेत्रको महास्नानघर पुनर्निर्माण सम्पन्न भएको करिब एक वर्षपछि भासिएको छ ।

जीर्णोद्वार सम्पन्न गरी महास्नान घरमा दुई वर्षअघि २०७९ भदौ पहिलो साता पशुपति सङ्ग्रहालय उद्घाटन गरिएको थियो । सङ्ग्रहालय उद्घाटन गरिए पनि सञ्चालन मापदण्ड नबनेका कारण बन्द नै छ ।

महास्नानघर भासिएपछि चालु आर्थिक वर्षमा पुनःनिर्माणका लागि बजेट व्यवस्थापन गरिएको कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले जानकारी दिए । महास्नानघरको भुँइतलाको भागमा प्रहरी बस्ने गरेको थियो । भवन भासिएपछि प्रहरीलाई त्यहाँबाट स्थानान्तरण गरिएको छ ।

पशुपति क्षेत्र विकाश कोषका इन्जिनियर रिका जोशीका अनुसार महास्नानघर निर्माणकालमा चौघेरा सत्तल एकैपटक नबनेका कारण भासिएको हुनसक्ने अनुमान गरिएको छ । 

महास्नानघरमा केही समय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यालय पनि राखिएको थियो । महास्नानघर जीर्णोद्वार गर्दा तलको भागमा केही नगरिएका कारण भासिएको हुनसक्ने कोषका योजना महाशाखा प्रमुख इन्जिनियर पशुपति ठाकुरले बताए । 

लकासीको मुख्य काठ कुहिएका कारण भवन भासिएको उनले सुनाए । भासिएको भवनलाई तत्काल टेको लगाएर हाललाई भत्किनबाट जोगाइएको कोषले जनाएको छ ।

आंशिक क्षतिग्रस्त महास्नानघर नेपाल इन्भेष्टमेन्ट बैंकले जीर्णोद्वार गरेको थियो । बैंकले पाँच करोड १४ लाखको लागतमा महास्नानघरको जीर्णोद्वार सकी पशुपति सङ्ग्रहालय निर्माण सम्पन्न गरेको जानकारी गराएको थियो । 

भवन भासिएपछि कोषले चालु आर्थिक वर्षमा यसको पुनर्निर्माणका लागि एक करोड बजेट व्यवस्थापन गरेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्