०५ साउन २०८३, मंगलबार

दुई महिनापछि कोशी प्रदेशसभा बैठक बस्दै, सरकारमा नजाँदै कांग्रेस सत्तापक्षमा बस्ने

भदौ १४, २०८१
विराटनगर
दुई महिनापछि कोशी प्रदेशसभा बैठक बस्दै, सरकारमा नजाँदै कांग्रेस सत्तापक्षमा बस्ने

कोशी प्रदेश सभाको बैठक आज बस्दैछ । गत असार ८ गते बजेट पारित गरेपछि स्थगित भएको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको हो ।

लामो समय बैठक नराखेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले असन्तुष्टि जनाएको थियो । नेकपा एमालेले पनि बैठक राख्नुपर्ने माग राखेपछि सभामुख अम्बरबहादुर विष्टले बैठक बोलाएका हुन् । 

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेको दुई महिना पुग्न लाग्दा पनि कांग्रेस सरकारमा सहभागी भएको छैन । तर, प्रदेश सभाको बैठकमा भने कांग्रेस सत्ता पक्षको रोहमा बस्ने भएको छ । कांग्रेसले सत्ता पक्षको रोहमा बस्ने जानकारी प्रदेश सभालाई दिएको छ । 

साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्र भने प्रमुख प्रतिपक्ष दलको हैसियतमा बैठकमा सहभागी हुने छ । 

सरकारमा सहभागी नभए पनि केन्द्रमा बनेको गठबन्धनका आधारमा सत्ता पक्षकै रोहमा बस्ने कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले बताए । यसअघि प्रमुख प्रतिपक्षी बनेको कांग्रेसले हिक्मत कार्की नेतृत्वको सरकारलाई समर्थनसमेत गरेको छैन । 

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश सभामा सरकारले तीनवटा विधेयक दर्ता गरेको छ । शुक्रबार तीनवटै विधेयक टेबल हुने सम्भावना रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्