२९ जेठ २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

प्रचण्डले अस्थिरता मच्चाउन खोजेको एमालेको आरोप, नभिड्ने रणनीतिमा देउवा

भदौ १४, २०८१
काठमाडौं
प्रचण्डले अस्थिरता मच्चाउन खोजेको एमालेको आरोप, नभिड्ने रणनीतिमा देउवा

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महासमितिमा ल्याएको प्रस्तावका केही प्रावधानलाई नरम बनाएर पास गर्ने रणनीति अख्तियार गरेका छन् ।

महामन्त्रीद्वयले ल्याएको सांगठनिक र समसामयिक प्रस्तावमा उल्लेख चुनावी गठबन्धन, १५ औं महाधिवेशनको मिति, नेताहरूको बहिर्गमन पोलिसीलगायत विषयमा कुरा मिल्न सकिरहेको छैन ।

देउवाले यिनै प्रावधानलाई केही नरम बनाएर पारित गर्ने रणनीति अख्तियार गरेका हुन् ।

पार्टी संगठन र केन्द्रीय समितिमा देउवाको झण्डै दुईतिहाइ पकड छ । देउवाले नचाहेको विषय पारित हुन सम्भव छैन । तर, उनले पेलेर जानेभन्दा पनि सहमतिमै यसलाई मिलाउने प्रयास गरिरहेका छन् ।
००००
प्रहरीले शिकार गरेर बँदेल मारेको आरोपमा पूर्वडीआइजीसहित १० जनालाई पक्राउ गरेको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोसी पलार क्षेत्रबाट मारिएको बँदेलसहित उनीसहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) ज्ञानविक्रम शाह र नेपाल प्रहरी कै बहालवाला प्रहरी नायव निरीक्षक (सई)सञ्जय न्यौपानेसहितलाई पक्राउ परेको प्रहरीले जनाएको छ । न्यौपाने हाल मधेस प्रदेशको बर्दिबासमा कार्यरत छन् ।  
००००
सरकारले गृहसचिव एकनारायण अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव बनाउने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरे । 

हालकी मुख्य सचिव लीलादेवी गडतौला शुक्रवारदेखि अनिवार्य अवकासमा जान लागेकाले सरकारले बिहीबारनै नयाँ मुख्य सचिव नियुक्त गरेको हो ।

सरकारले एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नवीकरण शुल्क वापत एनसेलले तिर्नुपर्ने रकम चार किस्तामा बुझाउन सक्नेगरी निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

००००
नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकप खेलेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक सदस्यलाई ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । 

क्यानको बिहीबार बसेको कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । 
००००
सत्तारुढ दल नेकपा (एमाले)ले आफ्नो राजनीतिक भविष्यमा अनिश्चयको तुवाँलो लागेपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाज भड्काउने अभिव्यक्ति दिएको आरोप लगाएको छ ।

 बिहीवार केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले राजनीतिक भविष्य नदेखेपछि प्रचण्डले अस्थिरता मच्याउने हिसाबले भड्काउ अभिव्यक्ति दिएको निष्कर्ष निकालेको हो ।
००००
एआईजी श्यामलाल ज्ञवालीसहितका प्रहरी अधिकारीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ ।

न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले बिहीबार उक्त रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरू यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
००००
संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाहरूलाई सम्बोधन गर्ने गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई अमेरिकासहित १० देशले समर्थन गरेका छन् ।

अमेरिका, स्विजरल्याण्ड, अस्ट्रेलिया, बेलायत, नर्वे, जापान, फिनल्याण्ड, युरोपियन युनियन, जर्मनी, र फ्रान्सका प्रतिनिधिहरूले यस विधेयकलाई स्वागत गर्दै संयुक्त वक्तव्य जारी गरेका छन् ।

वक्तव्यमा नेपाल सरकारको पहलकदमीको प्रशंसा गरिएको छ । संक्रमणकालीन न्यायका सन्दर्भमा पीडितका हकमा न्याय दिलाउन र सत्य निरूपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनका लागि ती देशहरूले नेपाल सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार नै राष्ट्रपतिले टीआरसी विधेयक प्रमाणीकरण गरेका थिए । 
००००
नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले विद्युत बक्यौताबारे लेखा समितिमा स्पष्टिकरण दिनुपर्ने बताएका छन् ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बास्कोटाले प्रचण्डको नेतृत्वमा गत वैशाख २७ गते बसेको मन्त्रिपरिषद बैठकले डेडिकेटेड र ट्रंक लाइनमा उद्योगीलाई १६ अर्ब छुट दिने निर्णय गरेको आरोप लगाएका हुन् ।
००००
शेयर बजारमा बिहीबार पनि गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३६.८३ अंकले घटेर २७ सय ४९ दशमलव ५७ बिन्दुमा कायम भएको छ ।
००००
अवैध लाइसेन्सका सन्दर्भमा छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदनमा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र सूचना प्रविधि निर्देशक मुकेश रेग्मीलाई मुख्य जिम्मेवार ठर्हयाएको खुलेको छ ।

छानबिन समितिले दिएको प्रतिवेदन मन्त्रालय हुँदै गोप्यरूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेकाले उक्त विषय बाहिर आएको थिएन । तर, लोकान्तरले प्राप्त गरेको छानबिन प्रतिवेदनमा विभागका डीजी रिजाल र निर्देशक रेग्मीलाई नै मुख्यरूपमा जिम्मेवार ठर्हयाइएको देखिन्छ ।
००००
माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेर अभिव्यक्ति दिएपछि नेकपा (एमाले)का सचिव योगेश भट्टराईविरुद्ध नेकपा (माओवादी केन्द्र)का सांसदहरू खनिएका छन् । 

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा माओवादी सांसद छिरिङल्हामु लामा तामाङ र छिरिङडम्डुल लामा भोटेले भट्टराईप्रति आक्रोश पोखेका हुन् । 
००००
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गोरखाको गण्डकी गाउँपालिकाका केही वडाहरूमा कृषकको स्वास्थ्यमा देखिएको समस्याको अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ। 

 केही दिनयता गण्डकी गाउँपालिकाका केही वडाहरूमा तरकारी खेतीमा अधिक विषादी प्रयोग गर्दा कृषककै स्वास्थ्यमा गम्भीर समस्या आएको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि मन्त्री रामनाथ अधिकारीले वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलको संयोजकत्वमा पाँच सदस्य  कार्यदल गठन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्