
गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीन जना गम्भीर घाइते भएका छन् । ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी अनिसा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्जी घाइते भएका हुन् ।
डेनिस र अनिसा (काका भतिजी) आफ्नै घरमा बसिरहेको अवस्थामा र समीक्षा आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले गम्भीर घाइते भएको स्थानीयले बताएका छन् । चट्याङले गम्भीर घाइते भइ बेहोस बनेका तीनैजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क पुर्याइएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ ।
तीनैजनाको अहिले प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्कमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रमुख प्रहरी निरीक्षक हरि बरालले जानकारी दिए ।
चट्याङले विद्युतीय सामग्रीमा ठूलो क्षति गरेको ऐंसेलुखर्क गाउँपालिकाका प्रवक्ता एवं वडा नं ३ ऐंसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिए ।
चट्याङबाट स्थानीय बासिन्दालाई जोगाउन यसअघि गाउँपालिकाले विभिन्न ठाउँमा अर्थिङसमेत गरेको थियो । अघिल्लो जनप्रतिनिधिका पालामा गाउँपालिकाको लगानीमा विभिन्न ठाउँमा अर्थिङ गरिए पनि यस वर्ष चट्याङले ठूलोमात्रामा क्षति गरेको स्थानीय बासिन्दाले बताएका छन् ।