
पहिरोले चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । अविरल वर्षाका कारण यही भदौ १२ गतेदेखि अवरुद्ध कर्णाली राजमार्ग हिजो साँझदेखि पूर्ण रूपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।
सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको गगनेखोला र दहिखोलामा आएको पहिरो हटाएपछि सडक खुलेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
सडक खुलेपछि रोकिएका मालवाहक ट्रक गुड्न थालेका छन् । वर्षाका कारण दहीखोला, मालचौर यासमोड, मेअरखोला, गगनेखोलासहितका दर्जनौँ स्थानमा पहिरो जाँदा सडक बन्द भएको थियो ।
पहिरोले सडक अवरुद्ध हुँदा जुम्लाबाट सुर्खेत नेपालगञ्जका लागि गएका ट्रक बाटोमै थन्किएका थिए ।
अवरुद्ध सडक खुलेसँगै बीच बाटोमा रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्यतिर लागेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।