
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडकको काम चाँडो सक्ने गरी सरकार अघि बढेको बताएका छन् ।
प्रेस चौतारी नेपाल चितवन शाखाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एक वर्षभित्र काम सम्पन्न गर्ने गरी सरकार अघि बढेको बताए ।
मन्त्री दाहालले एक वर्षभित्र काम सक्ने गरी निर्माण कम्पनीसँग सहमति भएकाले सोहीअनुसार काम हुने विश्वास व्यक्त गरे ।
'सडक निर्माणको काम शुरू भएको लामो समय भइसकेको छ, तर प्रगति हेर्दा ५४/५५ प्रतिशत मात्र काम भएको पाइएको छ । हामीले एक वर्षको म्याद थपेका छौं, अब सोही अवधिमा जसरी पनि काम सक्नुपर्छ', उनले भने ।
मुख्य राजमार्गका रूपमा रहेको यो सडक निर्माणका लागि नेपाल सरकारका तर्फबाट कुनै समस्या नभएको भन्दै मन्त्री दाहालले भने, 'सरकारका तर्फबाट उहाँहरूलाई दिनुपर्ने भुक्तानी रोकिएको छैन, दिइरहेको अवस्था छ । काम चाँडो सक्नका लागि ठेकेदार कम्पनीसँग बारम्बार छलफल भइरहेकाले अब प्रगति हुन्छ ।'
उनले बर्सात सकिएपछि कामको गति हेरिने र कामको गति बढाउन नसके सरकारले ठेकेदारको विकल्प खोज्ने प्रस्ट पारे ।
मन्त्री दाहालले भने, 'बर्सात सकिनेबित्तिकै उहाँहरूले तीव्र गतिमा काम अघि बढाउन नसकेमा हामीले ठेक्का तोडेर जानुपर्ने हुन्छ, अर्को विकल्प दिनुपर्ने हुनसक्छ । यस्तो गर्न नपरोस् भन्ने हाम्रो चाहना छ ।'