
नयाँ दिल्ली– भारतको मणिपुर राज्यमा विद्रोहीहरूले ड्रोनमार्फत सुरक्षा बलहरूमाथि घातक आक्रमण गरेका छन् । यसलाई प्रहरीले अशान्त उत्तरपूर्वी क्षेत्रमा हिंसामा ‘महत्त्वपूर्ण वृद्धि’ भनेको छ ।
आइतवार विद्रोहीहरूले गरेको ‘घातक आक्रमण’ मा ३१ वर्षीया महिलाको मृत्यु र ६ जना घाइते भएको प्रहरीले बताएको छ । विद्रोहीहरूले ड्रोन प्रयोग गरी रकेटबाट चल्ने ग्रेनेड प्रहार गरेका थिए ।
सन् २०२३ मा मणिपुरमा मुख्य रूपमा हिन्दू मैतेई बहुसङ्ख्यक र मुख्य रूपमा ईसाई कुकी समुदायबीच द्वन्द्व शरू भएको थियो । उक्त जातीय द्वन्द्वमा कम्तीमा दुई सय जनाको मृत्यु भएको थियो ।
प्रतिद्वन्द्वी मिलिसियाले युद्धग्रस्त म्यान्मारको सीमासँग जोडिएको राज्य मणिपुरका केही भागमा नाकाबन्दी गरेका छन् ।
दुवै समूहबीच लामो समयदेखिको तनाव भूमि र सार्वजनिक जागिरहरूका लागि प्रतिस्पर्धाको वरिपरि घुमेको छ । अधिकार कार्यकर्ताहरूले स्थानीय नेताहरूमाथि राजनीतिक लाभ हासिल गर्नका लागि जातीय विभाजनलाई बढाएको आरोप लगाएका छन् ।
‘सामान्यतया ड्रोन बमहरूको प्रयोग सामान्य युद्धमा प्रयोग गरिन्छ तर सुरक्षा बल र सर्वसाधारणविरुद्ध विस्फोटक पदार्थहरू तैनाथ गर्नका लागि ड्रोनको यो हालैको तैनाथीले महत्त्वपूर्ण वृद्धिको सङ्केत गर्दछ,’ मणिपुर प्रहरीले आइतवार विज्ञप्तिमा भनेको छ ।
राज्यको राजधानी इम्फालबाहिरको आक्रमण ‘कथित कुकी’ विद्रोहीहरूले गरेको विज्ञप्तिमा उल्लेख छ ।
घाइते हुनेमा मृत्यु हुने महिलाकी आठ वर्षीया छोरीका साथै तीन सर्वसाधारण र दुई प्रहरी अधिकारी रहेका छन् ।
‘सम्भवतः प्राविधिक विशेषज्ञता र सहयोगका साथ उच्च प्रशिक्षित पेशेवरहरूको सहभागितालाई अस्वीकार गर्न सकिँदैन,’ प्रहरीले भनेको छ ।