०२ असार २०८३, मंगलबार

नारायणगढ–मुग्लिन सडकका दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याइने

भदौ १८, २०८१
काठमाडौं
नारायणगढ–मुग्लिन सडकका दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याइने
फाइल तस्वीर

नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधीन दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ । सडकमा रहेका थप बाँकी दुई पुल कात्तिकसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

निर्माण भइरहेका काली र नाम्सी खोलाको पुल दशैंअघि सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।  नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार ती दुई पुलको कालोपत्रको काम मात्र बाँकी रहेको छ । 

'दशैंसम्ममा यी दुई पुल सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ,' उनले भने । सडक खण्डमा रहेका १९ पुलमध्ये चार निर्माणाधिन रहेका छन् । 

बाँकी दुई तुइन र खहरे खोलाको पुलको पहुँच सडक तथा कालोपत्रको काम बाँकी रहेको छ । आचार्यका अनुसार यी दुई पुल कात्तिक मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

यस सडक खण्डमा रहेका १९ पुलमध्ये विसं २०७६ चैत १० गते १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । यसअघि चार नयाँ पुल निर्माण गरिएको थियो ।  चार पुल सन् २०२० मा निर्माण गरिएको थियो । पन्ध्र पुलको लागत रु एक अर्ब २८ करोड रहेको छ । अनक कन्सट्रक्सनले पुलको ठेक्का पाएको थियो ।

विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुलको बीचमा सात दशमलव पाँच मिटर गाडी गुड्ने भाग रहेको छ भने दुवै पट्टी ठाउँअनुसार एक दशमलव पाँच मिटरसम्म फराकिलो पैदल मार्ग बनाइएको छ ।

तुइन खोलामा भित्तो काट्नुपर्ने भएकाले र खहरेमा मुआब्जाका कारण काम ढिलो भएको हो । यो सडक राजधानी छिर्ने र बाहिरिने मुख्य सडक हो ।  

विगतका वर्षमा पहिरोका कारण वर्षायाममा धेरै सास्ती व्यहोर्नुपर्ने भए पनि पछिल्लो समय सडक र पुल फराकिलो भएसँगै केही सहज हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्