
नेपाल प्रहरीका महानिरीक्षकको ‘जिब्रो थुत्नुपर्ने’ भन्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी गुरुङको अभिव्यक्तिबारे संसदमा विरोध भएको छ । सत्तापक्षकै सांसदले मन्त्रीका ‘जिब्रोमा ब्रेक लगाउनु पर्ने’ बताएका हुन् ।
मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सञ्चारमन्त्री गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।
‘म सत्तारुढ पक्षकै सांसद हुँ, सञ्चारमन्त्रीले केहीदिन पहिले नेपाल प्रहरीका आईजीपीको जिब्रो थुत्ने अभिव्यक्ति दिनुभएको छ । यो आपत्तिजनक
छ । मन्त्रीहरूलाई अनुरोध छ– जिब्रोमा ब्रेक लगाउनुस् । अन्त कहाँ जिब्रोमा ब्रेक लगाएर बोलियोस् र संसदमा जानकारी दिइयोस्,’ उनले भने ।
खतिवडाले गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेले मन्त्रीको पद पैसामा बिक्री गर्न खोजिएको अभिव्यक्ति दिएको भन्दै त्यसबारे कसैले जवाफ दिनुपर्ने बताए । मनाङेको अभिव्यक्तिप्रति राप्रपा सांसद रोशन कार्कीले आपत्ति जनाउँदै सेतो हात्ती बनेको प्रदेश संरचना खारेज गर्न माग गरिन् ।