०७ असार २०८३, आइतबार
सरसर्ती २४ घण्टा

एमाले–बालेनबीच चुलियो विवाद, देउवालाई समेत हारगुहार

भदौ १९, २०८१
काठमाडौं
एमाले–बालेनबीच चुलियो विवाद, देउवालाई समेत हारगुहार

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

काठमाडौँ महानगरपालिकाले सर्वोच्च अदालतको फैसलालाई टेकेर महानगर क्षेत्रभित्रको नदी नापी नक्साबाट कायम रहेको छेउबाट थप २० मिटर जग्गामा भवन निर्माण गर्न नदिने भनि गरेको निर्णयको एमालेले कडा विरोध गरेको छ । यही विषयमा एमाले र मेयर बालेन शाहबीच पछिल्लो समय चर्किएको छ । 

विवाद चर्किँदै जाँदा बालेन शाह समर्थकले प्रधानमन्त्री तथा नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पेजलाई तारो बनाएका छन् ।
बालेनले एमालेलक्षित पोस्ट सरकारले हटाएको आरोप लगाएसँगै समर्थकहरू आक्रोशित बनेर ओलीतर्फ खनिएका हुन् । 
बालेनका समर्थकहरूले ओलीको फेसबुकमा अनफलो अभियान चलाइरहेका छन् । 

मंगलबारदेखि चलेको उक्त अभियानबाट ओलीको फेसबुक पेज ‘केपी शर्मा ओली’को लाइक घटिरहेको छ । यो अभियानबाट मंगलबारयता ३० हजार बढीले ओलीको पेज अनलाइक गरेका छन् ।

००००
यसैगरी नेकपा एमालेका बागमती प्रदेश इञ्चार्ज डा राजन भट्टराई नेतृत्वको टोलीले नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई समेत यही विषयमा भेट गरेको छ । 

नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौं महानगर पालिकाका मेयरले जारी गरेको परिपत्रका सम्बन्धमा ध्यान आकर्षण गराउन भन्दै एमालेको प्रतिनिधिमण्डलले देउवालाई बुढानिलकण्ठस्थित निवासमा भेटेको हो । 

भेटमा देउवाले अदालतको फैसलाका कारण उत्पन्न समस्याका बिषयमा सरकार पुनरावलोकनमा जानपर्ने विषयमा सहमति जनाउँदै कानुन मन्त्रीलाई छिटो भन्दा छिटो पुनरावलोकनमा जानका लागि आवश्यक पहल लिन निर्देशन दिएको बताइएको छ । 

उसो त यो विषयमा मंगलबार बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकमा पनि विवाद भएको थियो । बालेनले यसबारे एकलौटी निर्णय गरेको भन्दै उपमेयर सुनिता डंगोललगायतले आपत्ति जनाएका थिए । एमाले र बालेनपछि पटक पटक आरोप प्रत्यारोप चल्दै आएको छ । 

००००
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेससँगको सहयात्रा २०८४ सम्मै जाने बताएका छन् । मंगलवार पार्टी कार्यालय च्यासलमा बसेको पोलिटब्यूरो बैठकमा उनले दुवै दल सात बुँदे सहमतिमा प्रतिबद्ध रहेकाले सहकार्य अर्को चुनावसम्म नै जाने दाबी गरेका हुन् । 

सत्ता समीकरण बनाउँदा कांग्रेससँग प्रष्ट कुराकानी र सहमति भएको भन्दै ओलीले सरकार ८४ सम्मै जाने बताएको एक नेताले जानकारी दिए । 

००००
नेपाल राष्ट्रबैंकले यो वर्षको दशैँमा नयाँ नोट नसाट्ने भएको छ । राष्ट्रबैंकले नयाँ नोटको ठाउँमा सुकिला नोट साट्ने भएको हो । यस वर्षदेखि राष्ट्रबैंकले नयाँ नोटको ठाउँमा सफा र सुकिला नोट साट्ने बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले बताए । 

००००

सहकारी संस्थाको बचत दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद १५ दिन थप भएको छ ।

मंगलवार बसेको प्रतिनिधिसभाको बैठकले भदौ २२ गतेदेखि समितिको म्याद १५ दिन थप गर्ने प्रस्ताव पारित गरेको हो । तीन महिनाको समय पाएर जेठ १५ गते गठन भएको समितिले २३ गतेदेखि काम शुरू गरेको थियो । 

००००
अघिल्लो दिन सोमबार उछाल आएको शेयर बजार मंगलबार सामान्य अंकले बढेको छ । ६.९० अंकको वृद्धिसहित नेप्से परिसूचक २८३०.१६ बिन्दुमा कायम भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्