
बेइजिङ– चीनको राज्य सुरक्षा एजेन्सीले बुधवार ‘संवेदनशील विषय’मा पहुँच भएका विद्यार्थीहरूलाई ‘सुन्दर पुरुष’ वा ‘सुन्दर महिला’ को मायाजालमा नपर्न सजग गराएको छ । एजेन्सीका अनुसार तिनीहरूले विद्यार्थीहरूलाई विदेशी शक्तिका लागि जासुसी गर्न लोभ्याउन सक्छन् ।
गत वर्ष विच्याट खाता खोल्दा विदेशी जासुसहरूले आफ्नो मुलुकसँग विश्वासघात गर्नका चिनियाँहरूलाई प्रलोभनमा पार्न काम गरिरहेको भन्ने बेइजिङको राज्य सुरक्षा मन्त्रालय (एमएसएस)को दाबीलाई बढावा एजेन्सीले दिएको छ ।
विदेशी जासुसहरूको ‘अनगिन्ती रूप छन् र तिनीहरूले आफ्नो लिङ्ग पनि परिवर्तन गर्न सक्छन्,’ भन्ने चेतावनी दिँदै मन्त्रालयले नागरिकहरूलाई मुलुकको खतराविरुद्ध ‘एक अर्ब ४० करोड जनताको रक्षा’ गर्न आह्वान गरेको छ ।
साथै मन्त्रालयले बुधवार विदेशी गुप्तचर एजेन्सीहरूमाथि चिनियाँ विद्यार्थीलाई लोभ्याउन ‘रोमान्स जाल’ तैनाथ गरेको आरोप पनि लगाएको छ ।
विदेशी जासुसहरूले गोपनीय जानकारी हस्तान्तरण गर्नका लागि विद्यार्थीलाई विशेषगरी ‘संवेदनशील वैज्ञानिक अनुसन्धान डाटा’सम्म पहुँच भएकाहरूलाई ‘प्रलोभनमा पार्न र बाध्य बनाउन’ नोकरीको विज्ञापन र अनलाइन डेटिङको पनि प्रयोग गरिरहेको एमएसएसले बताएको छ ।
एमएसएसले चेतावनी दिँदै भनेको छ, ‘उनीहरूले आफूलाई ‘सुन्दर पुरुष’ वा ‘सुन्दर महिला’ का रूपमा पनि युवा विद्यार्थीहरूलाई ‘रोमान्सको जाल’मा तान्न सक्छन् ।’ एमएसएसले कथित योजनापछाडि कुन मुलुक थियो भन्नेबारे भने बताएको छैन ।
तर एजेन्सीले जासुसहरूले आफूलाई विश्वविद्यालयको विद्वान, वैज्ञानिक शोधकर्ता वा सल्लाहकारका रूपमा विद्यार्थीहरूलाई पैसाको अभावमा प्रलोभनमा पार्न सक्ने चेतावनी दिएको छ । यसलाई ‘लक्षित घुसपैठ’ भनिन्छ ।

यसै महिना एमएसएसले ‘राम्रो सामरी (परोपकारी वा सहयोगी व्यक्ति)’ भएको देखावटी गर्ने ‘भेडाको लुगाका ब्वाँसाहरू’ (विदेशी एजेन्ट)बाट सावधान रहन जनतालाई चेतावनी दिएको थियो ।
एजेन्सीले जुनमा बेलायतको एमआई६ गुप्तचर एजेन्सीमाथि बेलायतका लागि जासुसी गर्न केन्द्रीय सरकारका लागि काम गर्ने एकजोडीलाई भर्ती गरेको आरोप लगाएको थियो ।
सबैभन्दा शक्तिशाली राष्ट्रपति सी जिनपिङको नेतृत्वमा भइरहेको मुलुकको उत्थानलाई रोक्न विदेशी शक्तिहरूले प्रयास गरिरहेको आरोप चिनियाँ पक्षले लगाएको छ ।
चीन र पश्चिमा शक्तिहरूले लामो समयदेखि एकअर्कामाथि जासुसी गरेको आरोप लगाउँदै आएका छन् र उनीहरूले हालै मात्र कथित व्यक्तिगत मामिलाको विवरण सार्वजनिक गर्न थालेका छन् ।
मे महिनामा अनुसन्धानकर्ताहरूले चीनका लागि जासुसी गरेको आशङ्कामा जर्मन एमईपीको ब्रसेल्स कार्यायलमा खानतलाशी गरेको थियो ।
मङ्गलवार न्युयोर्क राज्यका गभर्नरको सहयोगीका रूपमा काम गर्ने एक पूर्वअधिकारीलाई लाखौँ डलरको बदलामा चीनको एजेन्टका रूपमा काम गरेको आरोपमा पक्राउ गरिएको थियो ।