ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि एशियाली विकास बैङ्क (एडीबी)का देशीय निर्देशक अर्नाउड काउकोइसबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको उक्त भेटमा ऊर्जा क्षेत्रमा एडीबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको थियो ।
भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा विकासमा एडीबीले गरेको सहयोगप्रति धन्यवाद दिए ।
उनले आगामी दिनमा समेत सरकारलाई एडीबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे।
मन्त्री खड्काले एडीबीको लगानीमा निर्माण भएका आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न सरकार लागिपरेको उल्लेख गर्दै निर्माणका क्रममा देखिएका चुनौतीलाई सरकारले चाँडो सम्बोधन गर्ने बताएका ऊर्जा सचिव गोपालप्रसाद सिग्देलले जानकारी दिए ।
दुई ठूला राजनीतिक दल मिलेर दरिलो सरकार गठन भएकाले ढुक्क भएर लगानी गर्न मन्त्री खड्काले एडीबीलाई आग्रह गरे।
उनले नेपाल मध्यम आय भएको देशमा रुपान्तरण हुने बाटोमा अगाडि बढेकाले एडीबीको साथ र सहयोग आवश्यक रहेको बताए ।