१२ असार २०८३, शुक्रबार

पहिरोले ठाउँ ठाउँका सडक अवरुद्ध, यात्रुहरू बाटोमै रोकिए

भदौ २१, २०८१
दाङ
पहिरोले ठाउँ ठाउँका सडक अवरुद्ध, यात्रुहरू बाटोमै रोकिए

राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यानखण्ड अवरुद्ध भएको छ । बिहीबार साँझदेखि परेको वर्षात्ले तुलसीपुर–कपुरकोट सडक अवरुद्ध भएको हो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार  तुलसीपुर–३ राम्रीमा आएको पहिरोले सडक अवरुद्ध भएको हो ।  अहिले पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए ।

गलेश्वर (म्याग्दी)–अविरल वर्षाका कारण पहिरो खस्दा म्याग्दीको सदरमुकाम बेनीदेखि पश्चिम म्याग्दीका तीन  गाउँपालिका र बागुलङका विभिन्न गाउँ जोड्ने बेनी–दरबाङ सडक आज बिहानैदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ ।

मङ्गला गाउँपालिका–२ र बेनी नगरपालिका–४ को सीमानामा पर्ने फापरखेतको घुमाउने भिरमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । 

सडक अवरुद्ध भएपछि यात्रुहरु र सिमलचौर, सिमलगायतका ठाउँबाट तातोपानी अध्ययनका लागि आउने विद्यार्थी र पश्चिम म्याग्दीका विभिन्न ठाउँमा जाने यात्रुलाई समस्या हुने गरेको छ । 

कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व) खण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत नवलपुर खण्डको तीन ठाउँमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कालीगण्डकी करिडोरअन्तर्गत बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरो, बुलिङटार गाउँपालिका–१ मते डाँडा र गैँडाकोट नगरपालिका–३ हिउँदे खोलमा लेदो माटोसहितको पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । 

अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको उहाँले बताउनुभयो । कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।

अविरल वर्षापछि गएको पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत गोरखा नगरपालिका–१३ मझुवास्थित सात किलो भन्ने ठाउँमा पहिरो खसेकोे जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
    
पहिरो पन्छाउन ‘जेसीबी’परिचालन भइसकेको उनले बताए । सोही सडकखण्डअन्तर्गत गोरखा–८ स्थित सल्यान धारा नजिकै पनि पहिरोले सडक अवरुद्ध भएको गोरखा नगरपालिकाका वातावरण तथा विपत् व्यवस्थापन शाखाका प्रमुख ध्रुव घिमिरेले जानकारी दिए ।

'त्यसबाहेक ठाउँठाउँमा स–साना पहिरा गएका छन्,' उनले भने, 'सल्यान धारा नजिकैको पहिरो एकतर्फी खुले पनि दुईतर्फी खुलाउने प्रयास भइरहेको छ ।'

सडक अवरुद्ध हुँदा गोरखा सदरमुकामबाट सङ्घीय राजधानी काठमाडौंसहित पोखरा, चितवनलगायत स्थानबाट आउनेजाने सवारीसाधन रोकिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्