×

कूटनीतिक मामिलामा कच्चा खेल

द्विपक्षीय वार्तामा उठ्नुपर्ने विषय नेताका भाषणमाः हल्का अभिव्यक्तिको मूल्य चुकाउँदै नेपाल

काठमाडाैं | भदौ २१, २०८१

तस्वीरमा माथिबाट क्रमश: जयराज आचार्य, दिनेश भट्टराई र इन्द्र अधिकारी

अमेरिका भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत गर्ने अघिल्लो दिन भदौ १९ गते बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पोलिटब्यूरो बैठकमा भने, ‘चीनसँग अनेकौं नाका खोलेका छौं । अब फेरि नाकाबन्दी हुने स्थिति छैन ।’ 

Laxmi Bank

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ओलीको अभिव्यक्तिबारे सञ्चारकर्मीलाई जानकारी गराएका थिए ।


Advertisment

‘सञ्चार माध्यममा कतै तुइनको फोटो देखिएको छ, यसअघि पनि सरकारले तुइन विस्थापन गर्ने निर्णय गरेका हौं । कहीँ छुटेका छन् भने पनि जोड्छौं । चीनसँग अनेकौं नाका जोडेका छौं, अब फेरि नाकाबन्दी हुने स्थिति छैन । अप्टिकल फाइबर बिछ्याएका छौं । काम गरेका छौं भनेर अध्यक्षले भन्नुभयो,’ ओलीको भनाइ उद्धृत सरकारका कामबारे गौतमले भनेका थिए । 


Advertisment

एमाले अध्यक्ष मात्रै भएर बोलेको भए ओलीको यो अभिव्यक्ति स्वाभाविक सुनिन्थ्यो होला । तर, जटिल र संवेदनशील भूराजनीतिको ख्यालै नगरी ओलीले विना तयारी, कूटनीतिक मर्यादाविपरीत यस्तो अभिव्यक्ति दिएको अर्थ लाग्ने कूटनीतिक मामिलामा जानकारको टिप्पणी छ । 

जबकि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभाको ‘समिट अफ द फ्युचर’मा सम्बोधन गर्न जाने गरी प्रधानमन्त्रीको भ्रमण स्वीकृत हुँदै थियो । 

कठिन भूराजानीतिको आधारभूत सीमा, मर्यादा र संवेदनशीलता ख्याल नै नगरी ओलीले भारत र चीनको प्रसंग ल्याएर बोलेकोमा कूटनीतिक क्षेत्रका जानकारहरूले आश्चर्य व्यक्त गरेका छन् । 

तर, ओलीको यो अभिव्यक्ति पहिलो र अन्तिम भने होइन । केही दिनअघि भदौ १० गते पूर्व मन्त्री कमल थापाको ‘कूटनीति र भूराजनीति’ पुस्तक विमोचन गर्दा पनि प्रधानमन्त्रीका कतिपय अभिव्यक्ति सार्वजनिक मञ्चबाट व्यक्त गर्ने खालका थिएनन् । 

ओलीले सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरवलोकनसहितका विषयमा बनेको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन बुझ्न भारतलाई सार्वजनिक मञ्चबाट आग्रह गरेका थिए । 

नेपालका प्रधानमन्त्रीहरूले बेलाबखत कूटनीतिक मर्यादा बिर्सेर अर्को देशलाई अप्ठ्यारो पर्ने अभिव्यक्ति दिने गरेका छन् ।

प्रतिवेदन बुझेर कार्यान्वयन गर्ने वा नगर्ने विषय तपसिलका भए पनि प्रतिवेदन नै नबुझ्ने विषय राम्रो नभएको बताएका थिए । 

छिमेकी मुलुकबीच समस्या देखिए खुलस्त छलफलका आधारमा संवाद गरेर टुंग्याउनुपर्ने उनले बताएका थिए । 

‘हामी एउटा छिमेकीविरुद्ध अर्को छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौं,’ ओलीले भनेका थिए, ‘हामी कसैको कुभलो चिताउँदैनौं । हाम्रो भूमि कुनै पनि छिमेकी विरुद्ध प्रयोग गर्न दिँदैनौं ।’

भोलिपल्टै ११ भदौमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीले भारतसँग हिम्मतका साथ ईपीजी प्रतिवेदनको कुरा उठाएको भन्दै संसद्बाट ओलीलाई धन्यवाद दिए । 

‘भारत र नेपालका प्रधानमन्त्रीको सहमतिमा बनाइएको ईपीजीको प्रतिवेदन आफू (पुष्पकमल दाहाल प्रचण्ड) प्रधानमन्त्री भएर जाँदा यो बुझ्नुपर्‍यो भनेर भन्न सक्नुभएन । किन नबुझेको भनेर हामीले यहाँ संसदमा प्रश्न उठाउँदा अहिले सम्बन्ध बिग्रेला, वातावरण बिग्रेला भेर उठाइँन भन्नुभयो,’ प्रचण्डप्रति रोष प्रकट गर्दै पन्तले  भनेका थिए, ‘तर, हिजो प्रधानमन्त्री केपी ओलीले हिम्मतका साथ उठाउनुभयो : नेपाल–भारत सम्बन्धमा देखापरेका कतिपय गलत फेमी र अप्ठ्यारा समाधान गर्नका लागि सहमतिमा ईपीजीको प्रतिवेदन तयार गरेका थियौं । टेबल वार्तामा आफ्नो देशको अडान राख्नुभएको छ ।’

नेपालका प्रधानमन्त्रीहरूले बेलाबखत कूटनीतिक मर्यादा बिर्सेर अर्को देशलाई अप्ठ्यारो पर्ने अभिव्यक्ति दिने गरेका छन् । पूर्वप्रधानमन्त्री प्रचण्ड २०८० असार १८ गते प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा ‘उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटि दिल्ली पनि जानुभयो,’ भन्ने अभिव्यक्ति दिएर विवादमा तानिए । प्रचण्डको अभिव्यक्तिको नेपालमा विरोध मात्र भएन, भारतले समेत यस्तो हल्का अभिव्यक्ति रुचाएन ।

प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्ति भदौको पहिलो साता भारत भ्रमणका क्रममा परराष्ट्र मन्त्री आरजु राणा देउवाले पाएको महत्त्व र सम्मानको एक सातापछि आएको थियो । किनकी भारतले आरजुलाई ‘प्रधानमन्त्री सरह’को महत्त्व दिएको भनेर नेपालमा चर्चा भएको थियो । एमाले नेताहरूबाट आएका अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा लिनुपर्ने कुटनीतिज्ञहरू बताउँछन् । 

सामान्यतयाः प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाट गर्ने नेपाली अभ्यास स्थापितजस्तै छ । नेपालका अधिकांश प्रधानमन्त्रीले यही शैलीलाई पछ्याएका छन्, किनकि नेपालको सबैभन्दा नजिकको छिमेकीको भ्रमण गर्नुलाई उसले नेपालको नयाँ सरकारलाई दिएको मान्यताजस्तो कूटनीतिक अर्थ लगाउने चलन छ । 

तर, सबैभन्दा ठूलो दल कांग्रेसको समर्थनका प्रधानमन्त्री बनेका ओलीले पहिलो विदेश भ्रमण भारत नभई अमेरिकाबाट शुरू गर्दैछन्, यो पूर्वनिर्धारित कार्यक्रम हो । 

अमेरिका भ्रमणका बेला ओलीले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेबाहेक द्विपक्षीय वार्ता, साइडलाइन वार्ता गर्ने केही जानकारी आएको छैन ।

परराष्ट्र मन्त्री राणाले यूएनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुनसक्छ भनेर बोले पनि अहिलेसम्म पक्का भएको छैन । 

अमेरिकी राजदूतसँग प्रधानमन्त्री ओली

गहिराइमै पुग्ने गरी छिमेकीसँग सम्बन्ध बिग्रेको छ– आचार्य

संयुक्त राष्ट्रका लागि पूर्व राजदूत डा. जयराज आचार्य पछिल्लो समय नेपालको कूटनीतिक सम्बन्ध नराम्ररी बिग्रिएको बताउँछन् ।

‘आरजु राणा केही समयअघि भारत जानुभयो । तर, उहाँले ईपीजीको प्रतिवेदन, चुच्चे नक्सासहितका विषयमा के कुरा गर्नुभयो ? यही ईपीजीको कारण भारतसँग गहिराइमै पुग्ने गरी सम्बन्ध बिग्रेको छ,’ आचार्यले लोकान्तरसँग भने, ‘हामीले सतही कुरा गरेर हुँदैन । चुच्चे नक्सा टाँगेर मात्रै हुँदैन । टाँग्न त ग्रेटर नेपालको नक्सा पनि टाँगे हुन्छ । परिपक्व कूटनीतिक पहल गरी फिर्ता लिन सक्नु परिपक्वता हो ।’

कूटनीति र युद्ध हार्नु उस्तै कुरा भएको भन्दै आचार्यले स्टन्टबाज होइन जिम्मेवार बन्न नेताहरूलाई सुझाव दिए । 

‘कूटनीति एउटा युद्ध हो । कूटनीति र युद्धमा हार्नु उस्तै हो । यसैले सतही कुरा गर्नुहुँदैन,’ आचार्यले भने, ‘स्टन्टबाजी गरेर हुँदैन  । हाम्रा प्रधानमन्त्री, मन्त्री र जिम्मेवार निकायले सन्तुलित र परिपक्व कुटनीति देखाउनुपर्छ ।’

कमल थापाको पुस्तक विमोचनका क्रममा ओलीले गलेको भाषा बोलेको उनले बताए ।

‘पुस्तक विमोचनमा प्रधानमन्त्रीले गलेको भाषा बोल्नुभएको थियो । ईपीजीको रिपोर्ट बुझ्देको भए हुन्थ्यो भन्ने आशय थियो,’ आचार्यले भने, ‘हाम्रै कमजोरीले ईपीजीको प्रतिवेदन उसले नबुझेको भनेर रियलाइज गरेजस्तो देखिन्थ्यो । उहाँमा पुरानो कडा धार थिएन । तर, चीनसँग नाका खेल्नुलाई युगान्तकारी भन्नुभएको थियो ।’

आचार्य जिम्मेवार नेताले यस्तो बोल्नेभन्दा कार्यान्वयनको पाटोमा जानुपर्ने सुझाव दिन्छन् ।

‘चीनसँग नाका खोल्नु सिम्बोलिक हो मात्रै हो । यस्ता नाकालाई कसरी उपयोग गर्ने भन्ने प्रमुख विषय हो । प्रधानमन्त्रीले चीन हुँदै जापानसम्म सामान पुर्‍याउन सकिन्छ पनि भन्नुभएको छ,’ उनले भने, ‘तर आफ्नै देशमा किसान दूध र उखुको मूल्य नपाएर रोएर सडकमा हिँडेका छन् । स्वदेशी तरकारी नबिकेर सडकमा फाल्नुपर्ने बाध्यता छ । अर्कातिर विषादी हालेको तरकारी आयात गरेर जनतालाई खुवाउने राज्य छ । विदेशबाट स्याउ ल्याउने तर आफ्ना उत्पादनलाई बजारसम्म नपुर्‍याउने स्थिति छ । यसैले राष्ट्रवादी होइन, व्यावहारिक बन्नुपर्छ ।’ 

एमालेकै विदेश विभाग प्रमुख राजन भट्टराईले गत साता ईपीजीकै विषयमा बोल्दा भारतसँग सम्बन्ध बिग्रन्छ भन्ने मान्यता नेपाली नेतामा रहेको आशयको अन्तवार्ता दिएका थिए । 

ईपीजीको प्रतिवेदनबारे भ्रमणमा कुनै प्रस्ट कुरा नउठाएकी आरजुले भदौ १८ गते अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा दुवै देशले बनाएको प्रतिवेदनमा समयमा आवश्यक कारबाही अगाडि बढ्ने कूटनीतिक जवाफ दिएकी थिइन् । 

‘ईपीजीको प्रतिवेदन दुवै देशले बनाएको हो । उचित समयमा प्रतिवेदनमा आवश्यक कारबाही हुने कुरामा आशावादी छौं,’ उनले भनिन्, ‘भारत भ्रमणमा हामीले पनि कुरा उठाएनौं, उताबाट पनि उठेन ।’ 

परराष्ट्र मन्त्रीका रूपमा ईपीजीबारे आरजूले जवाफ दिनु स्वाभाविक देखिए पनि एमालेका नेताहरूले राष्ट्रवादी देखिनलाई यो विषय उठाउनुमा संगति नमिलेको कुटनीतिज्ञहरू बताउँछन् । 

नेताहरू नबोल्नु पर्ने ठाउँमा बोल्दा कुरा बिग्रेको छ– भट्टराई

पूर्व राजदूत दिनेश भट्टराई नबोले पनि हुने ठाउँमा बोल्ने र बोल्नुपर्ने ठाउँमा नबोल्ने शैली नेपाली नेताको रहेको बताउँछन् । 

‘ईपीजी होस् वा कूटनीतिका अरु समस्या र विषय हुन् बोलेर दबाब बढाउनुपर्छ । तर, प्रधानमन्त्री, मन्त्री वा अरु नेताले यत्तिकै हचुवामा बोलेर कुनै पनि इस्यु समाधान हुँदैनन्,’ भट्टराई भन्छन्, ‘भारत रिसाउँछ भनेर आफ्नो कुरा नराखेर हुँदैन, तर उपयुक्त समय, उपयुक्त फोरम, उपयुक्त तह र उपयुक्त शब्दका साथ बोल्नुपर्छ ।’

भारतीयहरू नबोलेकाले त्यही विषय हतारिएर खुला रूपमा बोल्दा आफैंलाई हानी हुने उनी बताउँछन् । 

परराष्ट्र मन्त्रीका रूपमा ईपीजीबारे आरजूले जवाफ दिनु स्वाभाविक देखिए पनि एमालेका नेताहरूले राष्ट्रवादी देखिनलाई यो विषय उठाउनुमा संगति नमिलेको कुटनीतिज्ञहरू बताउँछन् । 

‘ईपीजीमा नबोले हुन्थ्यो भन्ने लाग्छ किनकि भारतीयहरू बोलेका छैनन् । यसैले कूटनीतिक भेटघाटकै बेला दुई देशले बनाएको र खर्च गरेको प्रतिवेदन हो भनेर सम्झाए दुवैका लागि जेस्चर हुन्छ,’ उनले लोकान्तरसँग भने, ‘त्यसपछि बल्ल कति कार्यान्वयन गर्न सकिन्छ/सकिँदैन भन्ने टुंगो लाग्छ । तर सार्वजनिक खपतका लागि बाहिर बोलेर हामी कूटनीतिक रूपमा परिपक्व हुँदैनौं ।’

प्रधानमन्त्री, मन्त्री र सांसद देश एवं जनताकै प्रतिनिधि भएको भन्दै आचार्यले कूटनीतिका सीमा, मर्यादा, प्रक्रिया र सम्बन्धका विषयलाई ख्याल गर्नुपर्ने बताए ।

संसदको प्रमुख दल कांग्रेसको समर्थनमा सरकार बनाएपछि प्रधानमन्त्रीले निरन्तर नतिजा निकाल्ने गरी काम गराउन सक्नुपर्ने हो । तर, देशमा आन्दोलनको मौसम जस्तो उनले सडकमै ओर्लने चेतावनीसमेत दिएका छन् । 

हल्का अभिव्यक्तिले मूल्य चुकाउँदै

कुनै पनि छिमेकीको मामिलामा बोल्दा बोल्ने भाषा, कुन सन्दर्भ र कुन मञ्चमा बोल्ने भन्ने कुरा ख्याल नगर्दा मुलुकले मूल्य चुकाउनुपर्ने अर्का एक पूर्व राजदूतले बताए ।

‘नेताहरूका भाषा र बोल्ने शैलीले सम्बन्धित देशमा रहेकोे राजदूतलाई काम गर्न पनि अप्ठ्यारो परिरहेको हुन्छ, नेताहरूका हल्का अभिव्यक्तिले गर्दा देशले मूल्य चुकाइरहेको छ,’ उनले लोकान्तरसँग भने । 

राजनीतिक विश्लेषक डा. इन्द्र अधिकारी शान्त हिसाबले कूटनीतिक तहमा गर्न सकिने विषयलाई प्रोपागान्डा बनाउँदा नेपालले सधैँ समस्या बेहोर्नुपरेको बताउँछिन् । 

‘सहजै समाधान हुने विषयलाई जटिल बनाउने बानी हाम्रा राजनीतिकर्मीमा छ । यसमा अझै कम्युनिस्टहरू अगाडि छन् । ईपीजीकै विषयमा दुई देशले काम गरेका हुन् । यसलाई हुबहु कार्यान्वयन गर्नुपर्छ भन्ने बाध्यकारी पनि छैन,’ अधिकारीले लोकान्तरसँग भनिन्, ‘भारतले प्रतिवेदन बुझ्न ढिलाइ गर्नु राम्रो काम होइन, तर उसले बुझ्दैमा कार्यान्वयनमा जानुपर्छ भन्ने पनि छैन । रिपोर्ट बुझेनन् भनेर चिच्याउँदै हिँडनु उचित होइन, उसले रिपोर्ट बुझ्दैमा हामी अन्तर्राष्ट्रिय रूपमा सफल हुने भाष्य पनि गलत छ ।’

यसमा चुच्चे नक्साको सन्दर्भ नै नभएको भन्दै उनले कतिपय विषय असान्दिर्भक हुन पुगेको बताइन् । 

‘ईपीजीमा कालापानीलाई मुद्दा बनाइएको थियो । तर, चुच्चे नक्साको विषय थिएन । यसैले यो विषय असान्दर्भिक भइसक्यो । अन्य विषयमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, सचिव र संयन्त्रयको आ–आफ्नै तहमा औपचारिक रुपमा कुरा गरेर टुंग्याउनुपर्छ । औपचारिक च्यानलबाहिर बोल्नु बनेको आफ्नो कमजोरी लुकाउनु र दोष अरूलाई थोपर्नु मात्रै हो । कूटनीतिक संवेदनशील विषयमा जुन नेताले पनि जहाँसुकै बोल्नुले हामीलाई परिपक्व बनाइरहेको छैन ।’

शान्त कूटनीतिले गर्न सकिने विषयलाई जटिल बनाउन नहुने उनी बताउँछिन् । 

‘शान्त हिसाबले समाधान गर्न सक्ने विषयलाई प्रोपागान्डा बनाइन्छ । यहाँका शक्तिशालीमा इगो भएजस्तै शक्ति राष्ट्रमा पनि इगो हुन्छ । यसैले हामीले बाहिर बहकिने होइन, औपचारिक तहमा हामीलाई समस्या छन् भनेर भन्नुपर्छ,’ उनी भन्छिन्, ‘तर चीनसँग नाका खुलेका छन्, अब नाकाबन्दी हुँदैन भनेर भारतलाई चिढ्याउने हिसाबले बोल्नु कूटनीतिक परिपक्वता होइन । 

यस्ता कमजोरीले अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास नबढ्ने उनी बताउँछिन् । ‘छिमेकी वा अर्को देशसँगको सम्बन्ध र कूटनीतिलाई अरू देशले पनि हेरिरहेका हुन्छन्,’ अधिकारी भन्छिन्, ‘परिपक्व कूटनीतिज्ञ नदेखिँदा अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास बढाउन यस्तै गतिविधिले अवरोध सिर्जना गरिरहेका छन् ।’

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

निर्दोष पशुपक्षीको सम्मानमा

निर्दोष पशुपक्षीको सम्मानमा

असोज २१, २०८१

यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

x