०७ असार २०८३, आइतबार

पार्टी सङ्गठन विधानअनुसार चलाउनुपर्नेमा जोड

भदौ २३, २०८१
महोत्तरी
पार्टी सङ्गठन विधानअनुसार चलाउनुपर्नेमा जोड

नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेस प्रदेशका नेता तथा कार्यकर्ताले पार्टी नेतृत्वलाई सङ्गठन विधानअनुसार सञ्चालन गर्न सुझाएका छन् । पार्टीको केन्द्रीय अनुशासन विभागले मधेस प्रदेशका लागि बर्दिबासमा आज आयोजना गरेको अनुगमन तथा प्रशिक्षण कार्यक्रमका सहभागीले उपल्लो नेतृत्वलाई यस्तो सुझाएका हुन् ।

“पार्टीमा घरबार त्यागेर मुलुक र जनताको समृद्धिको सपना बोकेर हिँडेका कार्यकर्ता छन्, पछिल्लो समय सुविधा भोगी प्रवृत्ति बढेर यस्ता कार्यकर्तामा नेतृत्वको आँखा कम पर्ने गरेको छ,” महोत्तरीको लोहारपट्टि–४ खुटापिपराढी घर भएका मधेस प्रदेश कमिटी सदस्य नागेन्द्र चौधरीले भने, “पार्टीले कार्यकर्ताको समुचित मूल्याङ्कन गर्न नसक्दा सङ्गठन कमजोर बन्छ ।”

कार्यक्रममा सहभागीले मुलुकको विकास र समृद्धि एमालेले नै गर्नसक्ने आश जनतामा अझै रहेको बताएका छन् । जनताको तहमा रहेको यो आशा विचार र अनुशासनमा सुदृढ दलले मात्र पूरा गर्नसक्ने हुँदा एमाले नेतृत्व यसप्रति चनाखो हुनपर्ने सहभागीको धारणा छ । पार्टी सङ्गठन विधानअनुसार चले आन्तरिक गुनासा कम हुने धारणा सहभागीले राखेका छन् ।


कार्यक्रममा प्रदेशभित्रबाट प्रतिनिधित्व गर्ने दलका केन्द्रीय कमिटी सदस्य, केन्द्रीय विभागका पदाधिकारी तथा सदस्य, प्रदेशभित्रका प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरु, पार्टीका प्रदेश कमिटी सदस्य र जिल्ला अध्यक्षहरुसहित झण्डै पाँच सय जना सहभागी रहेका केन्द्रीय अनुशासन समितिका सदस्य दुर्गा दाहालले जानकारी दिए । 

कमेन्ट गर्नुहोस्