
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानालाई हटाउने षड्यन्त्रमा सत्तासाझेदार दलहरू लागेको भन्दै आपत्ति जनाएको छ । उसभामुखलाई हटाइए सडकमा आन्दोलन उठ्ने रास्वपाको चेतावनी छ ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले उपसभमुखलाई हटाएर ठूला दलले लोकतन्त्रको हत्या गर्न खोजेको आरोप लगाए ।
‘प्रमुख दल मिलेर लोकतन्त्रमाथि आक्रमण गर्ने काम गरिरहेका छन्, परिषद्मा आफ्नो बहुमत पुग्दैन भनेर उपसभामुखलाई हटाउने कुरा आपत्तिपूर्ण छ’ परियारले भने ।
उपसभामुखमाथि मिडियामार्फत् द्वेष साध्न खोजिएको उनले आरोप लगाए । ‘लोकतन्त्रलाई सल्लाह गरेर मार्न खोजिएको छ । संख्याका नाममा बलमिच्याइ गरियो भने, गठबन्धनले त्यसको मूल्य चुकाउनु पर्नेछ’ परियारले भने ।
जनताको सार्वभौमिकताभन्दा सार्वभौम कोही नरहेको भन्दै आन्दोलन हुने उनले चेतावनी दिए ।
असम्बिन्धित व्यक्तिलाई अमेरिका जान भिसा सहजीकरण गरेको आरोप लगाउँदै कांग्रेस र एमालेले उपसभामुख रानाविरुद्ध ‘पदीय आचरण अनुसार काम नगरेको’ सम्बन्धी प्रस्ताव ल्याउनेबारे हिजो छलफल गरेका थिए ।