२७ जेठ २०८३, बुधबार

वैदेशिक रोजगारीमा गएका वडाध्यक्ष फर्काउन माग

भदौ २५, २०८१
ताप्लेजुङ
वैदेशिक रोजगारीमा गएका वडाध्यक्ष फर्काउन माग

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका–३ का स्थानीयले वैदेशिक रोजगारीमा गएका वडाअध्यक्ष फर्काउन माग गरेका छन् ।

एक वर्षदेखि अध्यक्षविहीन बनेका वडाबासीले वडाध्यक्ष नहुँदा वडाबाट प्रवाह हुने सेवा तथा विकासका गतिविधि प्रभावित भएको गुनासो गरेका छन् ।

वडाध्यक्ष दिलप्रसाद बोखिम विक्रम संवत् २०८० कात्तिक २४ गते वैदेशिक रोजगारीका लागि हङकङ गएका थिए ।

त्यसपछि कार्यवाहक अध्यक्षमार्फत वडाका काम गरिए पनि स्थानीयले विकासको गति सुस्त भएको गुनासो गरेका हुन् ।

वडा अध्यक्षको खोजी गरेर वडा कार्यालयमा कार्य सम्पादन गर्न माग राख्दै गत असोज ५ गते स्थानीयले गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका थिए । ​

वडाध्यक्षको अनुपस्थितिमा वडाका अन्य जनप्रतिनिधिले समन्वय गरी योजना कार्यान्वयन गर्न कठिनाइ भएको उनीहरूको भनाइ छ ।

गत साता स्थानीयले गाउँपालिका अध्यक्षलाई तत्काल वडा अध्यक्षलाई फर्काउन वा काम गर्न नसक्ने अवस्थामा राजीनामा दिन माग राख्दै पुनः ज्ञापनपत्र बुझाएका छन् ।

'जनताको प्रतिनिधित्व गर्ने आधारमा संविधान कार्यान्वयन गर्ने व्यक्ति गैरजिम्मेवार हुँदा कसरी विकास हुन्छ ? वडामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधीविहीन अवस्था कस्तो हुन्छ ?,' ज्ञापनपत्रमा भनिएको छ ।

उनीहरूले वडाका समस्या तत्काल समाधान नगरे आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्