
पूर्व मुख्यमन्त्री केदार कार्कीले आमरण अनशन बस्ने भनेको क्षेत्रमा जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको छ।
आफ्नो कार्यकालमा शुरू गरेका केही कार्यक्रमको निरन्तरताको माग गर्दै कार्कीले आजदेखि अनशन बस्ने घोषणा गरेका थिए।
तर जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षामा सम्भावित असर पर्न सक्ने भन्दै विराटनगरका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज अपरान्ह ३ बजेदेखि अर्को सूचना नआएसम्म निषेधाज्ञा लागू गरिएको हो ।
पूर्व मुख्यमन्त्री कार्कीले देवकोटा चोकमा मंगलबार अपरान्ह ४ बजेबाट अनशन शुरू गर्ने जनाएका थिए।
प्रशासनले सभा, जुलुस, र्याली, धर्ना, प्रदर्शनीलगायतका विरोधात्मक कार्यक्रमलाई रोक लगाउने आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जारी गरेको सूचनामा निषेधाज्ञा उल्लङ्घन गरेमा कानूनी कारबाही गरिने चेतावनी दिएको छ।
निषेधाज्ञा अन्तर्गत देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रोडशेष चोकदेखि जतुवा चोकसम्म, मुख्यमन्त्री निवास र प्रदेश प्रमुखको कार्यालय वरपर ३०० मिटर क्षेत्र, तथा जिल्ला प्रशासन कार्यालय मोरङको क्षेत्र समेटिएको छ।
