२३ जेठ २०८३, शनिबार
डिबेटबारे जान्नैपर्ने ५ विषय

अमेरिकाको ’प्रेसिडेन्सियल डिबेट’: जसले निर्धारण गर्छ ट्रम्प र ह्यारिसको भाग्य

भदौ २५, २०८१
काठमाडौं
अमेरिकाको ’प्रेसिडेन्सियल डिबेट’: जसले निर्धारण गर्छ ट्रम्प र ह्यारिसको भाग्य

अमेरिकाकाे राष्ट्रपतीय चुनावको एउटा निर्णायक मोड मानिएको १० सेप्टेम्बर साँझको ’प्रेसिडेन्सियल डिबेट’ (बहस)ले उम्मेदवार डोनाल्ड ट्रम्प र कमला ह्यारिसको राजनीतिक भविष्य निर्धारण गर्नसक्ने हैसियत राख्छ । 

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प र वर्तमान उपराष्ट्रपति ह्यारिस उक्त डिबेटमा आमने–सामने हुनेछन् । नेपाली समयअनुसार मंगलवार साँझ हुने डिबेटबारे अमेरिकामा मात्र होइन विश्वभर नै चासो बढिरहेको छ । 

फिलाडेल्फियामा हुने तय भएको यो बहस अमेरिकाका लागि मात्र नभएर विश्वभरका राजनीतिक पर्यवेक्षकहरूले पनि ध्यानपूर्वक हेरिरहेका छन् । ट्रम्पको आक्रामक शैली र ह्यारिसको अनुशासित दृष्टिकोणले बहसलाई कुन दिशातर्फ लैजान्छ, त्यसको व्यग्र प्रतीक्षा अमेरिकीले गरिरहेका छन् । 

ह्यारिसका लागि यो अवसर मतदातासँग आफू चिनिने प्रयासमा केन्द्रित हुनेछ भने ट्रम्पका लागि आफ्नो पुरानो समर्थनलाई नयाँ सन्देश दिने अवसर हो ।

आगामी नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिकाे चुनाव हुँदैछ ।

बहसबारे जान्नुपर्ने ५ विषयः 

१. ट्रम्प र ह्यारिस पहिलोपटक आमने–सामने 

यसअघि डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति जो बाइडेन उम्मेदवार रहँदा एकपटक ट्रम्प र उनीबीच प्रसिडेन्सियल डिबेट भएको थियो । 

सोही बहसमा कमजोर सावित भएको आरोप आफूमाथि लागेपछि बाइडेनले चुनावी दौड छोडेका थिए । त्यसपछि उपराष्ट्रपति ह्यारिस दौडमा आइन् । यो बहसमा ट्रम्प र ह्यारिस पहिलोपटक भाग लिनेछन् । 

यो बहस दुवैका लागि निर्णायक मानिन्छ । किनकि उनीहरूबीच विशेषगरी स्विङ राज्यहरूमा कडा प्रतिस्पर्धा छ ।

null

२. बहसको मिति, समय र स्थान

यो बहस स्थानीय समयअनुसार सेप्टेम्बर १० राति ९ बजेबाट शुरू हुन्छ । फिलाडेल्फियास्थित नेसनल कन्स्टिच्युसन सेन्टरमा हुने यो ९० मिनेटको डिबेटमा दुई ब्रेक हुनेछन् । 

यो बहस अमेरिकाको एबीसी न्युज र बीबीसीबाट प्रत्यक्ष प्रसारण हुनेछ । यसको खास पक्ष– डिबेटमा कुनै दर्शक उपस्थित हुने छैनन् ।

३. बहसका नयाँ नियमहरू

यसअघिका बहसहरूमा पटक–पटक माइकको समस्या देखिएकाले त्यसलाई समाधान गर्न दुईवटा महत्त्वपूर्ण नियम लागू गरिएका छन् । 

पहिलो– एकजना उम्मेदवार बोलिरहेका बेला अर्काको माइक म्यूट गरिनेछ । दोस्रो, उम्मेदवारहरूले स्टेजमा आफ्नो स्थान छोड्न पाउने छैनन् । सन् २०१६ मा ट्रम्पले हिलारी क्लिन्टनसँग डिबेट गर्दा भएको घटनालाई ध्यानमा राखेर यो नयाँ नियम बनाइएको हो ।

४. ट्रम्प र ह्यारिसको तयारी 

बहसका लागि ह्यारिसले वाशिंगटनकी चर्चित कानून व्यवसायी करेन डनसँग प्रशिक्षण लिएकी छिन् । उनी कठोर प्रशिक्षकका रुपमा चिनिन्छिन् । ट्रम्पले भने परम्परागत तयारी शैलीलाई बेवास्ता गर्दै प्रत्यक्ष रुपमा मतदातासँगको अन्तरक्रिया नै आफ्नो तयारीको हिस्सा रहेको बताएका छन् ।

५. चुनावी दौडलाई प्रभाव पार्न सक्ने डिबेट

डिबेटले चुनावी दौडलाई प्रभाव पार्न सक्छ । जो बाइडेनको अघिल्लो डिबेटको खराब प्रदर्शनले उनको उम्मेदवारीको अन्त्य भएको थियो । 

यसपटक ह्यारिससामु आफ्ना प्रभाव र नीतिहरू स्पष्ट बनाउनुपर्ने चुनौती छ । किनकि धेरै मतदाताले उनलाई अझै राम्ररी चिनेका छैनन् ।


 

salt training

कमेन्ट गर्नुहोस्