२२ जेठ २०८३, शुक्रबार

लगभग आधा शरणार्थी बालबालिका शिक्षाको पहुँचबाट वञ्चित

भदौ २५, २०८१
काठमाडौं
लगभग आधा शरणार्थी बालबालिका शिक्षाको पहुँचबाट वञ्चित

जेनेभा– संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर)ले विश्वव्यापी शरणार्थी शिक्षा र भर्नामा उल्लेखनीय प्रगति हासिल भएको तर अझैपनि विश्वका १ करोड ४८ लाख विद्यालय जाने उमेर पुगेका शरणार्थी बालबालिकामध्ये लगभग आधा विद्यालय जानबाट वञ्चित भएको जनाएको छ ।  

यस वर्ष यूएनएचसीआरले जारी गरेको शरणार्थी शिक्षा प्रतिवेदन अनुसार ६५ शरणार्थी आयोजक देशहरूको तथ्याङ्कले लगभग ७२ लाख शरणार्थी बालबालिका असुरक्षा, समावेशी शिक्षा नीतिको अभाव, क्षमता र भाषा अवरोधजस्ता कारणले गर्दा शिक्षाबाट वञ्चित छन् । 

प्रतिवेदनले सन् २०२२–२३ को शैक्षिक वर्षका लागि शरणार्थीको औसत कुल भर्ना दर पूर्वप्राथमिक तहका ३७ प्रतिशत, प्राथमिक तहका लागि ६५ प्रतिशत र माध्यमिक तहका लागि ४२ प्रतिशत रहेको देखाएको छ । 

शरणार्थी शिक्षामा विभिन्न अवरोधको बाबजुद पनि विगत पाँच वर्षमा आशाजनक प्रगति भएको यूएनएचसीआरले पुष्टि गरेको छ ।  नयाँ प्रतिवेदनले शरणार्थीहरूका लागि शिक्षाको पहुँच केही प्रमुख आयोजक देशमा विस्तार भएको सङ्केत गरेको छ। यसबाहेक, कममात्रै शरणार्थीहरू राष्ट्रिय परीक्षामा समावेश भएपनि पास दर उच्च र कहिलेकाहीँ राष्ट्रिय औसतभन्दा बढी पनि रहेको पाइएको छ । 

यूएनएचसीआरले सन् २०३० सम्म शरणार्थीको शिक्षाको अधिकारलाई सम्बोधन गर्न दिगो अन्तर्राष्ट्रिय सहयोग र नवीन साझेदारीलाई निरन्तरता दिन आयोजक राज्य, सरकार, दाता र साझेदारहरूलाई आह्वान गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्