जनता आवास कार्यक्रमअन्तर्गत छ सय ३२ घर निर्माण सम्पन्न भएका छन् ।
सङ्घीयतापछि स्थापना भएको प्रदेश अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय कैलालीले हालसम्म कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहमा ती घर निर्माण गरेको हो ।
न्यून आय भएका दलित एवं विपन्न परिवारका लागि कैलालीमा दुई सय ६६ र कञ्चनपुरमा तीन सय ६६ घर निर्माण गरिएको कार्यालयका इञ्जिनियर एवं सूचना अधिकारी रोहित अधिकारीले जानकारी दिए ।
उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकामा ४९, गोदावरी नगरपालिकामा ३८, घोडाघोडी नगरपालिकामा २८ र भजनी नगरपालिकामा २७ घर निर्माण गरिएका छन् ।
यसैगरी बर्दगोरिया गाउँपालिकामा २४, गौरीगङ्गा नगरपालिकामा १२, लम्कीचुहा नगरपालिकामा ३९, जानकी गाउँपालिकामा १९ र टीकापुर नगरपालिकामा ३० घर निर्माण गरिएको इञ्जिनियर अधिकारीले जानकारी दिए ।
यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ५६, पुनर्वास नगरपालिकामा ५०, बेलौरी नगरपालिकामा ४३, बेदकोट नगरपालिकामा ५६, भीमदत्त नगरपालिकामा एक सय ११ र महाकाली नगरपालिकामा ५० घर निर्माण गरिएको इञ्जिनियर अधिकारीले जानकारी दिए ।
उनका अनुसार ६ सय पाँच घर सङ्घीय सरकारको बजेट र २७ घर प्रदेश सरकारको बजेटबाट निर्माण भएका हुन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा निर्माण गरिएका एक सय ११ घरमध्ये २७ घर प्रदेश सरकारको बजेटबाट निर्माण भएको उनले बताए । घर निर्माणका लागि प्रतिपरिवार रु तीन लाख ३६ हजार उपलब्ध गराइएको थियो ।
उपभोक्ता समिति र लाभग्राहीको न्यूनतम १० प्रतिशत श्रमदानमा घर निर्माण गरिएका इञ्जिनियर अधिकारीले बताए । आव २०७५/७६ देखि आव २०७९/८० को अवधिमा ती घर निर्माण सम्पन्न भएका हुन् ।
आव २०८०/८१ मा जनता आवासका लागि कैलालीमा रु चार करोड ३३ लाख र कञ्चनपुरमा रु चार करोड ४६ लाख ९४ हजार बजेट विनियोजन गरिएको थियो ।
जनता अवासका लागि चालू आवमा सङ्घीय सरकारबाट बजेट उपलब्ध नभएको उनको भनाइ छ ।