०५ साउन २०८३, मंगलबार

कांग्रेस उपसभापति गुरुङ मुछिएको मितेरीसहितका सहकारीमा संसदीय समितिको अनुगमन

भदौ २८, २०८१
काठमाडौं
कांग्रेस उपसभापति गुरुङ मुछिएको मितेरीसहितका सहकारीमा संसदीय समितिको अनुगमन

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मितेरी सहकारीमा स्थलगत अनुगमन गरेको छ ।

बिहीबार समितिका सभापति सूर्य थापासहितको टोलीले मितेरीसहित अन्य १३ सहकारीमा अनुगमन गरेको हो ।

मितेरी सहकारीको रकम हिनामिनामा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ पनि मुछिएका छन् ।

समितिले मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग रकम हिनामिनाबारे छलफल गरेको थियो ।

ललितपुरको महालक्ष्मीस्थानमा सञ्चालित मितेरी सहकारी पुगेको समितिले रकम हिनामिना प्रकरणमा नेपाली कांग्रेसका उपसभापति गुरुङ र उनकी पूर्वपत्नीसमेत मुछिएको विषयमा जवाफ मागेको थियो ।

समितिका सभापति थापाका अनुसार धनराज गुरुङ र उनकी पूर्व पत्नीले लिएको ऋणको विषयमा सोधपुछ गरिएको थियो । उनले भने, ‘बिहीबारको कार्यविधिअनुसार ३ वटा सरकारी निकाय र १३ वटा सहकारी संस्थाहरूको स्थलगत निरीक्षण गरेका थियौं ।’

समितिले नयाँ बानेश्वरस्थित सहकारी विभाग र सहकारी प्रशिक्षण केन्द्र र बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा अनुगमन गरेको थियो ।

त्यस्तै सहकारीहरू मितेरीसहित स्वर्णलक्ष्मी, सुमेरु, सिभिल, गौतमश्री, कान्तिपुर कोअपरेटिभ, नेपाल सहकारी वित्तीय संस्था, लालीगुराँस, गोरखा सेभिङ, शिवशिखर र नागरिक विकास सहकारीको स्थलगत निरीक्षण, अवलोकन र वस्तुगत अवस्थिति अध्ययन गरेको सभापति थापाले जानकारी दिए ।

उनका अनुसार पुल्चोकस्थित शाखा कार्यालय रहेको गुण मल्टीप्रपोजले बचत फिर्ता गरेपछि सञ्चालन प्रक्रियाको समेत अवलोकन गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्