
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले आज आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा रोहित पुरुषतर्फ र एरिका महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन्। रोहितले आफ्नै सहकर्मी दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, गल्फका सुवास तामाङ र करातेका मोहमद शेख आलमलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् ।
रोहितको कप्तानीमा नेपालले वर्ष २०८० मा एसिसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा स्थान बनाएको थियो । यसैगरी आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनल पुग्दै नेपाल १० वर्षपछि विश्वकपमा छनोट हुँदा पनि नेपाली टिम रोहितकै कप्तानीमा थियो ।
उत्कृष्ट पुरुष खेलाडीको अवार्डसँगै उनले एक थान पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् ।
त्यसैगरी चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा देशका लागि ऐतिहासिक रजत पदक दिलाउन सफल एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भइन्। उक्त अवार्डका लागि कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ मनोनयनमा परेका थिए ।
यसैगरी नेपाली राष्ट्रिय भलिबल टोलीकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जित्न सफल भइन् ।
नेपालमा क्रिकेटमा महत्त्वपूर्ण योगदान पुर्याएका विनयराज पाण्डे ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित भए भने भए ।
पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा एथलिट अवार्डको उपाधि जितिन् भने टिम अफ दी इयरको अवार्ड भने नेपाली राष्ट्रिय महिला कबड्डी टिमले जितेको छ ।