
नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने भएको छ ।
यही भदौ ३० गतेबाट आगामी असोज ४ गतेसम्म दुई देशका सेनाबीच संयुक्त अभ्यास ‘प्यासिफिक एन्जल’ सञ्चालन हुने नेपाली सेनाले जनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरूका सम्बन्धमा ज्ञान आदान प्रदान हुने छ ।
काठमाडौं, मकवानपुर र धादिङ जिल्लाहरूमा सोसम्बन्धी विभिन्न अभ्यासहरू सञ्चालन हुने सेनाको भनाइ छ । सन् २०१२ बाट शुरू भएको उक्त अभ्यासको यो चौथो संस्करण भएको जनाइएको छ ।
विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई देशका सेनाबीच विभिन्न अभ्यासहरू सञ्चालन हुँदै आएको सेनाले जनाएको छ ।