
लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा सोमबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मीको मालिका गाउँपालिका– ८ निवासी डा. डिल्लीराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै, बैठकले सदस्यहरूमा रोल्पाको परिवर्तन गाउँपालिका– ६ निवासी डा. सुदनकुमार वली, दाङको घोराही उपमहानगरपालिका– १६ निवासी भुवन चौधरी र रुपन्देहीको बुटवल उपमहानगरपालिका– १८ निवासी शान्तादेवी ढकाललाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए ।
यस्तै, बैठकले दाङको शान्तिनगर गाउँपालिका– ४ चिराघाटबाट परिवर्तन गरी सोही गाउँपालिकाको वडा नम्बर ४ स्थित जुम्लेकुलामा केन्द्र तोक्न नेपाल सरकारमा सिफारिस गरेर पठाउने निर्णय गरेको छ ।
गाउँपालिकाको १५ औं गाउँसभाको दुईतिहाई बहुमतबाट पालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय पास गरेको थियो ।
यस्तै, गुल्मीको मुसिकोट नगरपालिका र जापानको ओइता प्रिक्याक्चर, बुङ्गोओनो शहरबीच भगिनी सम्बन्ध कायम गर्ने आवश्यक निर्णयका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।