२४ जेठ २०८३, आइतबार

चितवन राष्ट्रिय निकुञ्जमा यसवर्ष आठ छावा थपिँदै

असोज १, २०८१
चितवन
चितवन राष्ट्रिय निकुञ्जमा यसवर्ष आठ छावा थपिँदै
पाइल तस्वीर

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठवटा छावा (हात्तीको बच्चा)  थपिने भएका छन् । यसवर्ष दुईवटा बच्चा जन्मिसकेका छन्भने छवटा जन्मिने क्रममा छन् ।
 
तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार गएको जेठ १२ गते कर्णालीकलीले भाले र जेठ १६ गते हिमालीकलीले पोथी छावा जन्माएका हुन् । यही असोज भित्रमा देवीकली, तीर्थमानकली र रिमझिमकलीले बच्चा जन्माउने उनले बताए । उनका अनुसार यसै वर्षभित्र तमोरकली, लोकतन्त्रकली र चितवनकलीले बच्चा जन्माउँदै छन् ।
 
'एक–दुई महिना तलमाथि होला तर यसै वर्षमा आठ छावा थपिँदै छन्,' उनले भने । यसअघि विसं २०८० सालमा दुईवटा छावा जन्मिएका थिए । गण्डकीकली र प्रवेशकलीले छावा जन्माएका हुन् ।  विसं २०७९ मा ६ छावा जन्माएका थिए ।
 
बच्चा जन्मिएको दुई महिनापछि नै हात्ती पुनः गर्भवती हुनयोग्य हुन्छ । उनका अनुसार २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउँछ । अधिकांश छावा जङ्गली हात्ती रोनाल्डो, गोविन्दे, धु्रवे र मकुनाका हुन् । खोरसोर क्षेत्रमा अहिले पनि गोविन्दे र मकुना दैनिक आउने गरेको उनले जानकारी दिए ।
 
 जन्मिएको तीन वर्षपछि हात्तीका बच्चालाई तालिम दिने गरिन्छ । चौधरीका अनुसार प्रजनन केन्द्रमा हाल ११ माउ र १० छावा छन् ।

विसं २०५४ देखि बच्चा जन्मिन थालेका थिए । हालसम्म ६७ बच्चा जन्मिएका राष्ट्रिय निकुञ्जअन्तर्गत हात्ती प्रजनन तथा तालिम केन्द्रले जनाएको छ । यहाँ जन्मिएका छावालाई तालिम दिएर निकुञ्जका विभिन्न पोष्टमा सुरक्षार्थ परिचालन गर्ने गरिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्