
कर्मचारी सञ्चय कोषले ५ खर्ब ५१ अर्ब रुपैयाँ लगानी गरेको छ ।
कोषले आफ्नो ६३ औं वार्षिकोत्सवको अवसरमा सोमबार प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएको हो ।
कोषका अनुसार संकलित स्रोत मध्ये करिब ९७ प्रतिशत अर्थात् ५ खर्ब ५१ अर्ब रकम विभिन्न क्षेत्रमा लगानी गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षाका योजनामा सरकारलाई कोषले सहयोग गरेकोमा धन्यवाद दिए ।
सञ्चयकर्ताको भरोसालाई विश्वासमा लिन औषतभन्दा पनि अधिकतम प्रतिफल दिनेगरी काम गर्न कोषलाई मन्त्री पौडेलले आग्रह गरे ।
उनले सञ्चयकर्ताहरूको दायरा विस्तार गर्ने र आकर्षण बढाउने किसिमका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए ।
कार्यक्रममा अर्थ मन्त्रालयका राजश्व सचिव तथा कोष सञ्चालक समिति अध्यक्ष दिनेशकुमार घिमिरेले कोषको वित्तीय स्रोत परिचालन गर्ने क्षमताको सराहना गरे । कोषको वित्तीय क्षमताको आधारमा सञ्चयकर्ताहरूलाई अधिकतम लाभ दिनेगरी काम गर्न उनको आग्रह छ ।
कार्यक्रमका कोषका पूर्व प्रशासकहरू रमेशकुमार भट्टराई र शंशारभक्त श्रेष्ठले कर्मचारी सञ्चय कोषले लगानी विविधीकरणको माध्यमबाट जलविद्युत र सञ्चयकर्ता आवासको क्षेत्रमा गरेको लगानीको प्रशंसा गर्दै थप नयाँ लगानीका क्षेत्र खोज्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
वार्षिकोत्सवको अवसरमा अन्तर्राष्ट्रिय सामाजिक सुरक्षण संस्था (आईएसएसए)का अध्यक्ष डा. मोहम्मद अजमानले भिडियो सन्देश पठाउँदै सामाजिक सुरक्षाको क्षेत्रमा कोषले छ दशक देखि पुर्याउँदै आएको योगदानप्रति आभार प्रकट गरेका थिए । सामाजिक संरक्षणको क्षेत्रमा कोषसँग मिलेर काम गर्न आईएसएसए सदैव तयार उनले बताए ।
कार्यक्रममा कोषका प्रशासक जितेन्द्र धितालले कोषको समग्र अवस्थाको जानकारी गराएका थिए । सरकारी तथा सार्वजनिक क्षेत्रको सामाजिक सुरक्षा प्रदायक संस्थाको रूपमा कोषलाई स्थापित गर्ने प्रतिबद्धता उनले जनाए ।
कोषको सेवामा १५ वर्ष अवधि पूरा गरेका १४ जना कर्मचारीहरूलाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको थियो ।
यसका साथै विभिन्न अतिरिक्त क्रियाकलापका विजेता कर्मचारीहरूलाई पदक तथा पुरस्कार वितरण गरिएको थियो ।
यस्तै, २०८० सालको एसईई परीक्षामा सफल भएका कोषका कर्मचारीका छोरा/छोरीलाई पुरस्कृत गरिएको थियो ।
कोषले निजामती, जंगी र प्रहरी सेवा तर्फका कर्मचारीहरूका साथै शिक्षक, सार्वजनिक संस्थान तथा निजी प्रतिष्ठानका कर्मचारीसमेत गरी ५ लाख ७५ हजारभन्दा बढी सञ्चयकर्ताको करिब ६ खर्ब रुपैयाँ बराबरको रकम व्यवस्थापन गर्ने जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिरहेको छ ।
स्थापना कालदेखि सञ्चय कोषको मात्र व्यवस्थापन गर्दै आएको कर्मचारी सञ्चय कोषले २०७६ साल यता निवृत्तभरण कोष ऐन, २०७५ बमोजिम योगदानमा आधारित निवृत्तभरण कोषको समेत व्यवस्थापन गर्दै आइरहेको छ ।
कोषले योगदानकर्ताहरूको सेवाकालीन आवश्यकता पूरा गर्न विशेष सापटी, घर सापटी, शैक्षिक सापटीजस्ता ६ किसिमका सापटी सुविधाहरूलाई सहुलियत दरमा प्रदान गर्दै आएको छ ।
सामाजिक सुरक्षा सुविधातर्फ प्रसूति तथा शिशु स्याहार, काजक्रिया अनुदान, दुर्घटना क्षतिपूर्ति योजना तथा सञ्चयकर्ता तथा निजको श्रीमान् वा श्रीमतीका लागि औषधोपचार सुविधालगायत ४ किसिमका सुविधाहरू सञ्चयकर्तालाई निःशुल्क रूपमा प्रवाह गर्दै आइरहेको छ ।
कोषले विभिन्न क्षेत्रको लगानीबाट प्राप्त प्रतिफललाई सञ्चयकर्ताको हितमा लगाउँदै आएकोमा आर्थिक वर्ष २०७९/८० मा प्राप्त प्रतिफलबाट सञ्चयकर्ताको जम्मा भएको कोष रकममा १.१० प्रतिशतका दरले मुनाफा वितरण गरिएको छ ।