
बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व धुमधामसँग मनाइँदैछ ।
विजय उत्सवको रूपमा मनाइने यो पर्वमा बूढी अर्थात् राक्षसी पूतनालाई पोल्ने गरिन्छ ।
भाद्र सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई आज साँझ पोल्ने चलन रहिआएको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले जानकारी दिए ।
द्वापरयुगमा भगवान श्री कृष्णले राक्षसी प्रवृत्तिकी पूतनालाई मारेपछि सोही दिनको सम्झनामा बूढी पोल्ने गरिएको छ ।
द्वापरयुगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पूतनालाई भगवान श्री कृष्णले दूध चुसी मारेको विजयोत्सवका रूपमा बूढी पोल्ने पर्व मनाइने गरेको हो ।
सुदूरपश्चिममा भाद्र सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई आज साँझपख पोल्ने र सोही ठाउँमा काँक्रो खाँदै लुतो फाल्ने प्रचलनसमेत रहिआएको छ ।
ओल्के सङ्क्रान्तिका दिन गोठालाले बूढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगा थप्ने गर्छन् ।
भाद्र सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई आज पोलेमा सुख शान्ति प्राप्त हुने विश्वास रहिआएको स्थानीय प्रेमसिंह धामीले बताए ।
बूढी जलाउँदा बनेको खरानीको तिलक बनाएर गाईलाई लगाउने चलनसमेत रहिआएको छ ।
ओल्के सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई आज असोज सङ्क्रान्तिका साँझ प्रत्येक घर–घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा छ ।