
हरेक वर्षजस्तै यस पटक पनि भारतको हैदरावादस्थित बालापुर गणेश मन्दिरको लड्डुले निकै चर्चा पाइरहेको छ । यसपटक त्यो लड्डु ३० लाखमा बिक्री भएको छ । बालापुर कोलनका भाजपा नेता शंकर रेड्डीले उक्त किनेका हुन् ।

मन्दिरमा हरेक वर्ष लड्डु लिलामी हुने गरेको छ । यसका लागि मानिसहरू टाढा टाढाबाट बोली लगाउन आउँछन् । लिलामीबाट प्राप्त रकम गाउँमा विकास निर्माणमा खर्च हुने गरेको छ। बालापुरको यो लड्डुको तौल २१ किलो छ। हरेक वर्ष गणेश चतुर्थीको दिन यसलाई प्रसादका रूपमा तयार गरिन्छ ।
बालापुर गणेश लड्डु लिलामी सन् १९९४ मा शुरू भएको थियो । त्यो वर्ष स्थानीय किसान कोलन मोहन रेड्डीले ४५० रुपैयाँमा लड्डु किनेका थिए ।
द हिन्दुको रिपोर्ट अनुसार २०१९ को लिलामीमा लड्डुको मूल्य १७.६ लाख रुपैयाँ थियो । कोभिड-१९ महामारीका कारण २०२० मा कुनै लिलामी भएन । त्यसपछि मुख्यमन्त्रीलाई लड्डु चढाइएको थियो । २०२१ मा, बालापुर गणेश लड्डु १८.९० लाखमा लिलामी भएको थियो ।