१३ असार २०८३, शनिबार

नेपालमै पहिलो पटक पोखरामा बलुन फेस्टिभल  हुने

असोज ३, २०८१
काठमाडौं
नेपालमै पहिलो पटक पोखरामा बलुन फेस्टिभल  हुने

पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुने भएको छ । बलुन नेपाल प्रालिको आयोजनामा क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आगामी डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म महोत्सव आयोजना गर्न लागिएको बिहीबार काठमाडौंमा आयोजित घोषणा सभामा जानकारी दिइयो ।

महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरसम्म पामे क्षेत्रमा तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुनेछ । नेपाल बलुन प्रालिका अध्यक्ष बिक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार नेपालमा पहिलो पटक आयोजना हुन लागेको महोत्सवमा नेपालसहित विश्वका करिब ३० देशका व्यावसायिक बलुन कम्पनीहरूको सहभागिता रहने छ । पर्यटकीय नगरी पोखरा र समग्र नेपालको पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने आफूहरूले अपेक्षा गरेको उनले बताए । कोरोना महामारीपछि सुस्ताएको मुलुकको पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पनि फेस्टिभल प्रभावकारी हुनेमा उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटन क्यालेनडरमा नयाँ कार्यक्रम थप भएकामा खुसी व्यक्त गर्दै महानगर कार्यक्रमको संरक्षक र प्रवर्द्धक रहने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले महोत्सव मुलुकको पर्यटन क्षेत्रको हितमा भएको उल्लेख गर्दै खुसी व्यक्त गरे । 

कम्पनीका निर्देशक बीबी ढकालले महोत्सवमार्फत पोखराको पर्यटनमा नयाँ आयाम थपिने बताए ।

कार्यक्रमले पोखरामा आउने आन्तरिक तथा विदेशी पर्यटकलाई नयाँ अनुभव प्रदान गर्ने बताउँदै बेलुन नेपालका प्रवन्ध निर्देशक सबिन महर्जनले कार्यक्रमले उक्त क्षेत्रको आर्थिक विकास, सांस्कृतिक आदानप्रदानका साथै विभिन्न देशमा कूटनीतिक सम्बन्ध विस्तार समेत बिश्वास व्यक्त गरे ।

आयोजकका अनुसार फेस्टिभल अवधिभर हरेक दिन बिहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटहरूले हट एयर बेलुनको उडान गर्नेछन् । एक सातासम्म चल्ने महोत्सवमा करिब पाँच सय व्यावसायिक उडान हुनेछन् । जसमा करिब तीन हजार जनाले उडान भर्ने लक्ष्य लिइएको छ । महोत्सवमा करिब तीन सयवटा गैर व्यावसायिक उडान हुनेछन् ।

फेस्टिभलका अवसरमा पोखरामा मिनि बलुन सो पनि हुनेछ । उक्त अवधिभर ख्यातीप्राप्त विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहनेछ । 

फेस्टिभलमा एकै पटक धेरै बलुन उडान हुने हुँदा त्यसको रौनक छुट्टै हुनेछ । सो अवसरमा नेपालका परम्परागत र मौलिक संस्कृति तथा विभिन्न देशबाट ल्याइने सांस्कृतिक प्रदर्शनी पनि गरिनेछ भने त्यसबाहेक फेस्टिभलमा विभिन्न स्वादिष्ट खानाका परिकारका साथै मनोरञ्जनात्मक पर्यटकीय गतिविधि पनि उपलब्ध हुनेछ । फेस्टिभल आयोजना गर्न ६ करोड ८२ लाख ३० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

हट एयर बलुनमा सामान्यतयाः ४० मिनेटको लामो उडान हुन्छ । उडानका क्रममा अन्नपूर्ण, माछापुछ्रे र धौलागिरीलगायतका हिमश्रंखलासहित पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । त्यसैगरी सूर्योदय र सूर्यास्तको मनोरम दृश्यका साथै, नाइट बलुन ग्लोज, प्रत्येक दिन २० मिनेट फायर वर्क्स, बलुसन रेस, कन्सर्ट, विभिन्न खेल, फूडकोर्ट, सांस्कृतिक नृत्य, डिजे म्युजिक तथा नाइट क्याम्पलगायत मनोरञ्जनात्मक गतिविधि हेर्न पाइनेछ ।

विसं २०७३ सालमा स्थापना भएको बलुन नेपाल प्रालिले २०७५ सालदेखि पोखरामा हट एयर बलुनको व्यावसायिक उडान गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्