०५ साउन २०८३, मंगलबार

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्त्व बढ्दै गएको छ : प्रचण्ड

असोज ४, २०८१
काठमाडौं
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्त्व बढ्दै गएको छ : प्रचण्ड
फाइल तस्वीर

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्त्व बढ्दै गएको बताएका छन् ।

जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताए ।

उनले अब शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्त्वपूर्ण एजेन्डा हुनसक्ने बताए ।

‘हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष र विपक्षमा मत थिए, यसमा कुनै दलले समर्थन गर्ने स्थिति थिएन,’ उनले भने, ‘तर अब बदलिएको राजनीतिक परिस्थिति र विश्व परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षाका शान्ति क्षेत्र घोषणाको महत्त्व बढ्दै गएको छ । हाम्रा पनि धेरै नेता साथीहरूले यो प्रस्ताव पार्टीभित्र छलफल गरौं भनिरहनुभएको छ, म पनि यसमा छलफल खुला गर्ने पक्षमा छु, हामी पार्टीबाट नै यस विषयमा स्पष्ट दृष्टिकोण बनाएर जाने छौं ।’​

आफूहरू केन्द्रीय समिति बैठकको तयारीमा रहेकोले उस्तै परे यही बैठकबाट पनि एउटा प्रस्तावको रुपमा यसलाई लैजान सकिने पनि उनले जानकारी दिए ।

अध्यक्ष प्रचण्डले विश्व शान्तिको केन्द्र लुम्बिनीलाई प्रमुख आधार बनाएर यो क्षेत्रलाई शान्ति क्षेत्रको रूपमा अघि सार्न आवश्यक हुने उल्लेख गर्दै यसमा जनस्तरबाट बहस थालिनु सकारात्मक भएको बताए ।

उनले आफ्नो पार्टीको तर्फबाट यो अभियानलाई सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

दाङका वरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा अभियानको अध्यक्ष रहेका छन् ।

अभियानको तर्फबाट बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापनपत्र बुझाउँदै संयुक्त राष्ट्रसंघको महासभामा आवाज उठाउन आग्रह गरेको उपाध्यक्ष दोर्जी छिरिङ शेर्पाले जानकारी दिए ।

दाङबाट शुरू भएको यो अभियानले दाङ, लुम्बिनी र काठमाडौंमा विभिन्न समयमा विचार गोष्ठी गरिसकेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्