२८ जेठ २०८३, बिहीबार
सुमेरु सहकारी ठगी

महर्जन दम्पतीको 'ट्रिक' : सहकारी ठगेपछि सम्बन्धविच्छेद, बेलायत भाग्नुअघि पुन:विवाह

असोज ४, २०८१
काठमाडौं
महर्जन दम्पतीको 'ट्रिक' : सहकारी ठगेपछि सम्बन्धविच्छेद, बेलायत भाग्नुअघि पुन:विवाह

ललितपुरको पुल्चोकस्थित सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक भरत महर्जन र राजमाया महर्जन दम्पतीले ठगी रकम अपचलन गर्नका लागि सम्बन्धविच्छेद गरेको पाइएको छ । सम्बन्धविच्छेद गरिसकेपछि बेलायत पलायन हुन पुनः विवाह समेत गरेको खुलेको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । 'भरत महर्जन र राजमाया महर्जनबीचको समबन्धविच्छेद सहकारीकै प्रयोजनका लागि भएको थियो र बेलायत जाने प्रयोजनका लागि पुनः विवाह गरी पति-पत्नी भए भन्ने देखिन्छ । निज महर्जनले  पुनः विवाहका लागि पेश गरेको फाराम अनुसूची- २४ मा प्रस्तुत गरिएको छ,' समितिको प्रतिवेदनमा उल्लेख छ ।

२०५६ साउन ४ गते सुमेरु बचत तथा ऋण सहकारी संस्था ललितपुरमा दर्ता भएर सञ्चालनमा आएको थियो । सहकारी स्थापनादेखि नै भरत महर्जनको नेतृत्वमा सञ्चालनमा रहेको थियो । २०७६ सालसम्म नेतृत्व गरेर आफ्ना विश्वासपात्र र आफन्तलाई सञ्चालक समितिमा स्थापित गर्नेलगायत एकल निर्णय गर्दै आएका महर्जन अहिले सपरिवार बेलायत बस्छन् ।

संस्थाको रकम अपचलन गरी सम्पत्ति आर्जन गरेपछि २०७६ सालमा संस्थाकै कर्मचारी हेमराज दाहाललाई अध्यक्ष र विनोद आचार्यलाई सचिव बनाएर अन्य आफन्तलाई सञ्चालक समितिमा राखी उनी आफू सञ्चालक समितिबाट बाहिरिएका थिए । २०६६ सालमा सञ्चालक समितिको अध्यक्ष महर्जन हुँदा सचिवमा प्रेमनारायण घिमिरे, कोषाध्यक्ष महर्जनकै आफन्त विकास महर्जन र सदस्यमा श्रीमती राजमाया महर्जन थिए ।

लेखा समिति संयोजकको जिम्मेवारीमा भने विनोद आचार्य थिए ।

आफूले अध्यक्ष पद छाड्‌दा उनले आचार्यलाई सचिव बनाएका थिए । लेखा समिति सदस्यमा भरत पौडेल र सरिता डंगोल थिए ।

'धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल, सातदोबाटोमा एसियन कलेज र शंकरापुर एकेडेमी, सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एन्ड ट्राभल्स कम्पनी, सुमेरु इन्भेस्टमेन्ट कम्पनीजस्ता व्यवसाय भरत महर्जनले सुमेरु सहकारीको स्रोत अपचलन गरेर खडा गरे,' प्रतिवेदनमा उल्लेख छ ।

सोही सम्पत्तिको लोभमा सहकारी व्यवस्थापन गर्ने भन्दै देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईं र सोही संस्थाका सल्लाहकार कृष्ण कंडेलेको नेतृत्वमा सुमेरु सहकारीमा प्रवेश गर्ने योजना बनाएर सञ्चालक समिति बनेको थियो । सञ्चालक समिति अध्यक्षमा कृष्ण कंडेल थिए ।

भरत महर्जन भने त्यतिबेला परिवारसहित बेलायत पलायन भइसकेका थिए । तर, सुमेरु ग्रुपले प्रतिबद्धता पूरा नगरेको भन्दै देउराली समूह पछाडि हट्यो । ६ महिना सञ्चालक समितिको नेतृत्व कृष्ण कंडेलले गरे पनि सम्झौता भाँडिएपछि पूर्वअध्यक्ष हेमराज दाहालको कार्यसमितिले नै संस्था सञ्चालन गर्ने कार्य गर्‍यो ।

सुमेरुमा हालै पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंह नेतृत्वको समूह प्रवेश गरेको छ । सहकारीको अध्यक्षमा वीरेन्द्र महर्जन चयन भएका छन् । उपाध्यक्षमा हरिश चन्द, सचिवमा ओभिल गुरुङ मनाङ्ग्रेन, कोषाध्यक्षमा राजन राई, सदस्यहरूमा गोकुलबहादुर रोकाया, घुरबहादुर शाह र अनिल मल्ल छन् ।

भरत महर्जनले छाड्दा  २०७६ सालको सञ्चालक समितिमा अध्यक्ष हेमराज दाहाल, उपाध्यक्ष दिलिपकुमार डंगोल, सचिव विनोद आचार्य, व्यवस्थापक धनेन्द्र कट्टेल र प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र महर्जन थिए ।

उक्त सहकारीको कूल बचत तथा निक्षेप ७ अर्ब २३ करोड ८८ लाख ५ हजार र बैंक तथा नगद मौज्दात ६९ लाख २० हजार ६५० रुपैयाँ रहेको छ ।

सुमेरु सहकारीमा जम्मा कर्जा ८ अर्ब ९६ करोड ७ लाख  १४ हजार रहेकोमा दुईतिहाइ ऋण सुमेरु सिटी हस्पिटल र सुमेरु कम्युनिटी हस्पिटललाई असुरक्षित ढंगले प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

सुमेरु सिटी हस्पिटललाई ३ अर्ब १२ करोड ३५ लाख १८ हजार र सुमेरु कम्युनिटी हस्पिटललाई २ अर्ब ८६ करोड ६४ लाख ८१ हजार ऋण प्रदान गरेको पाइएको छ ।

त्यसैगरी, सम्पत्तिको मूल्यांकन गर्दा विना कुनै आधार सोझै ८ अर्ब ६१ करोड बराबरको रकम धितोबापत देखाइएको छ ।

संस्थाले कुल ऋणको ७८ प्रतिशत ऋण मात्र २५ जना सदस्यलाई विनाधितो प्रवाह गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्