
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औं अधिवेशनमा भाग लिन उनी शुक्रबार न्युयोर्क प्रस्थान गरेका हुन् ।
यसैगरी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क प्रस्थान गरेसँगै सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो । यस्तै ओलीको अनुपस्थितिमा एमालेको कार्यबाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई दिइएको छ ।
००००
सहकारी ठगी सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले गोर्खा मिडिया नेटवर्कमार्फत सहकारीको रकम दुरुपयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई यथेस्ट प्रमाणसहित दोषी करार गरेको पाइएको छ । शुक्रबार सार्वजनिक समितिको प्रतिवेदनबाट यस्तो पुष्टि भएको हो ।
समितिले लामो अध्ययन र प्रमाणहरूको विश्लेषणपछि रवि लामिछाने गोरखा मिडिया नेटवर्कमा भएको आर्थिक हिनामिनामा प्रत्यक्षरूपमा संलग्न रहेको निष्कर्ष निकालेको हो ।
यो प्रकरणले सहकारी क्षेत्रको विश्वासमा गम्भीर धक्का र्पुयाएको छ भने नेपाली राजनीतिक वृत्तमा पनि यो गम्भीर चासोको विषय बनेको छ ।
००००
यस वर्षको दशैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिले शुक्रवार एक सूचना जारी गर्दै टीकाको साइतबारे जानकारी दिएको हो ।
००००
नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडक निर्माणलाई गति दिन छ बुँदे सहमति भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा उक्त सहमति भएको हो ।
आयोजनामा देखिएका विभिन्न समस्या समाधान गरी निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्वद्ध पक्ष सहमत भएका हुन् ।
००००
मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी चालु तेस्रो अधिवेशन अन्त्य गरेकी हुन् । यस्तै कोशी प्रदेशको अधिवेशन पनि अन्त्य भएको छ ।
००००
नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच यही असोज ५ देखि १५ गतेसम्म सगरमाथा फ्रेन्डसिप अभ्यास हुने भएको छ ।
उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाको टोली शुक्रबार चीन प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
००००
चालू आर्थिक वर्षको भदौ महिनामा घरजग्गा कारोबार र राजस्व संकलन दुवैमा गिरावट आएको छ । चालू आर्थिक वर्षको दोस्रो महिना भदौमा घरजग्गा कारोबार ८।८० प्रतिशत र राजस्व संकलन २५ प्रतिशतले घटेको हो ।
भदौ महिनामा मात्रै कुल ३२ हजार ७९८ घरजग्गा कारोबारको लिखत पारित भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ३५ हजार ६८६ वटा घरजग्गाको कारोबार भएको थियो । यसपटक ८.८० प्रतिशतले कमी आएको छ ।
००००
नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङ र पत्नी ज्योति गुरुङबीच सहमतिमै सम्बन्ध विच्छेद भएको पाइएको छ ।
ज्योतिले धनराजविरुद्ध ललितपुर जिल्ला अदालतमा विभिन्न आरोप लगाएर अंशसमेत नलिने गरी सम्बन्धविच्छेद गराइ पाऊँ भनेर निवेदन दिएकी थिइन् ।
उक्त निवेदनबमोजिम धनराजसमेत ज्योतिको प्रस्ताव मान्न तयार भएको पाइएको छ । यसपछि विसं २०७६ चैत २८ गते दुवै पक्षले मिलापसमेत गरेकाले अदालतले सोहीअनुसार सम्बन्धविच्छेद गरिदिएको हो ।
सहकारी ठगी सम्बन्धी छानबिन गर्न सूर्य थापाको नेतृत्वमा गठित संसदीय छानबिन विशेष समितिले गुरुङ दम्पतीबीच भएको सम्बन्धविच्छेदको कागजातसमेत समावेश गरेको छ ।
००००
नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।
महासंघ अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएपछि विष्टले कार्यवाहकको जिम्मेवारी पाएका थिए । तर कार्यवाहक अध्यक्ष विष्टले पनि शुक्रबार राजीनामा दिएका हुन् ।