०८ असार २०८३, सोमबार
संसदीय छानबिन समितिको प्रतिवेदन​

माओवादीका शक्ति बस्नेत संस्थापक र रास्वपा नेताहरू पदाधिकारी रहेको सहकारीको ८ करोड अपचलन

असोज ५, २०८१
काठमाडौं
माओवादीका शक्ति बस्नेत संस्थापक र रास्वपा नेताहरू पदाधिकारी रहेको सहकारीको ८ करोड अपचलन

नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेत संस्थापक अध्यक्ष रहेको सहकारीमा ५० जना बचतकर्ताको ७ करोड ७७ लाख ९० हजार रुपैयाँ अपचलन भएको पाइएको छ । प्रतिनिधिका सांसद सूर्य थापाको नेतृत्वमा बनेको सहकारी ठगीको छानबिन समितिको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।

बस्नेत संस्थापक अध्यक्ष रहेको हाम्रो नयाँ कृषि सहकारी संस्था २०७० जेठ १३ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको थियो ।

बस्नेत संस्थापक अध्यक्ष रहेको संस्था निष्क्रियजस्तै अवस्थामा रहेको बेला २०७७ सालमा नयाँ समूह आएर सहकारी सञ्चालन गरेको हो ।

२०७७ साउन २७ गते सम्पन्न सहकारीको आठौं साधारणसभाबाट सूर्यबहादुर गुरुङको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन भयो ।

गुरुङ अध्यक्ष हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वर्तमान उपाध्यक्ष एवं पूर्वमन्त्री डीपी अर्याल उपाध्यक्ष र कवीन्द्र बुर्लाकोटी सञ्चालक सदस्य भए ।

उक्त समितिको सचिवमा उत्तम अधिकारी, कोषाध्यक्ष जनक गौतम, सञ्चालकहरू कृष्णकुमार न्यौपाने र शर्मिला तामाङ थिए । संस्थाको लेखा समिति संयोजक विनोद दाहाल, सदस्यमा पुरुषोत्तम अधिकारी र रजनिश आचार्य थिए ।

आठौं साधारणसभा भएको दुई वर्षमा २०७९ असोज २२ गते सहकारी संस्थाको १०औं वार्षिक साधारणसभाबाट सहकारीमा गितेन्द्रबाबु (जीबी) राई नेतृत्वको नयाँ सञ्चालक समिति आयो ।​

जीबी राई अध्यक्ष हुँदा सहकारीको उपाध्यक्षमा कल्याण उपकार बचत तथा ऋण सहकारीको अध्यक्ष लीलाबहादुर गुरुङ, सचिवमा ओमप्रकाश गुरुङ, कोषाध्यक्ष नवीन अछामी, सञ्चालकहरूमा दुर्गा चापागाईँ पाण्डे, असरफ अली सिद्धिकी र रामहरि अधिकारी चयन भए ।

सहकारीको लेखा समिति संयोजक हेमन्त अधिकारी तथा सदस्यहरूमा रविन रिमाल र निर्मला तण्डुकार छन् ।​

जीबी राई अध्यक्ष भएको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी, लीलाबहादुर गुरुङ अध्यक्ष भएको कल्याण उपकार र धनबहादुर तामाङ अध्यक्ष रहेको लालीगुराँस बचत तथा ऋण सहकारी संस्था एकीकरण गर्दा सम्झौता हुँदा देशभर कार्यक्षेत्र बिस्तार गर्ने उद्देश्यसहित हाम्रो नयाँ कृषि सहकारीमा समेत उक्त समूह प्रवेश गरेको हो ।

उक्त सञ्चालक समिति सहकारी संस्था समस्याग्रस्त घोषणा भएसँगै निलम्बनमा छ । सहकारी विभागका सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले  २०८० माघ ११ गते समस्याग्रस्त घोषणा गरेको हो ।

'समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट यस सहकारीको वित्तीय अवस्थाको विवरणसम्बन्धी कुनै तथ्य तथ्याङ्क र जानकारी प्राप्त नभएको भएता पनि सहकारीका ५० जना बचतकर्ताले ७ करोड ७७ लाख ९० हजार १९८ रुपैयाँ बचत माग गरेका छन्,' प्रतिवेदनमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्