१४ असार २०८३, आइतबार

जुम्लाका किसानलाई मौरीघार जोगाउन मुस्किल​

असोज ५, २०८१
जुम्ला
जुम्लाका किसानलाई मौरीघार जोगाउन मुस्किल​
फाइल तस्वीर

मौरीघारमा भालुले क्षति पुर्‍याउन थालेपछि जुम्लाका मौरीपालक किसान चिन्तित बनेका छन् ।

भालुबाट मौरीलाई बचाउन समस्या भएको चन्दननाथ नगरपालिका–४ का किसान रामकृष्ण बुढ्थापाले बताए ।

उनले भने, 'दुई वर्षका अन्तरमा १३ मौरीका घार भालुले खाइदियो । अहिले एक मात्र घार रहेको छ । घार भालुबाट जोगाउन समस्या भयो । भालु धपाउन अनेकन उपायहरू गरे पनि सकिएको छैन । रातभर मान्छेहरू जाग्राम बस्ने, थाले केही गरेर भालुदेखि घार बचाउन सकिएन । न भालु धपाउन सकियो नत घारको सुरक्षा दिन सकिएको छ ।'

जङ्गलको छेउमा मौरीपालन भएकाले चरन क्षेत्रको अभाव थिएन । गाउँ नजिकै मौरीपालन गर्दा चरन क्षेत्र अभावले रोग लाग्ने गरेको मौरीपालक किसान बुढ्थापाले बताए ।

भदौ, असोज र कात्तिक महिना मौरीपालनमा भालु आतङ्क नै हुने गरेको मौरीपालन सहकारी संस्थाका सचिव नारायण चौलागाईंले जानकारी दिए ।

भालुले मौरीको लार्भा र मह खाइरहेको छ । दुधिलो र मीठो हुने भएकाले मौरी घार खोजीखोजी खाने गरेको यहाँका किसान बताउँछन् । भालुले चन्दननाथ नगरपालिकाको चौरखोला, रडिखल्ला र तलिउम क्षेत्रमा मौरीघार सखाप पारिरहेको छ । कनकासुन्दरीको लेकाली क्षेत्र, पातारासीको पेरे, गुठिचौरको कोल्ते क्षेत्रमा मौरीघारमा भालुले धैरै क्षति गरेको मौरीपालन सहकारी संस्थाका सचिव चौलागाईंले बताए ।

उनले भने, 'भालु र रोगले मौरी मासिन थालेपछि किसानले मौरीको दररेट तोक्न दिन माग गर्दै कृषि विकास कार्यालयमा निवेदन दिएका छौं । कार्यालयबाट सुनुवाइ भएको छैन । सरकारले ७५ प्रतिशत अनुदानमा मौरीको बीमा गर्ने व्यवस्था गरेको छ । अन्य जिल्लामा मौरी बीमाको सेवा किसानहरूले लिइरहेका छन् ।'

उनले जुम्लामा बीमा हुन नसकेको जनाउँदै मौरीको बीमा गर्न भन्दै शिखर इन्स्योरेन्समा आए पनि कम्पनीले मौरीको दररेट मागेपछि किसानसँग दररेट नभएकाले बीमा गर्न नसकेको बताए ।

हरेक वर्ष कुल घार सङ्ख्याको १५ प्रतिशत घार भालुले खाइदिने गरेको मौरीपालन सहकारी संस्थाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्