०९ असार २०८३, मंगलबार

५२ करोड लागतमा ​मोहना र खुटिया नदीमा तटबन्ध निर्माण​​​​

असोज ५, २०८१
कैलाली
५२ करोड लागतमा ​मोहना र खुटिया नदीमा तटबन्ध निर्माण​​​​

कैलालीको मोहना र खुटिया नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ ।

एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा नदी कटान तथा रोकथाम नियन्त्रण गर्न रु ५२ करोड लागतमा निर्माणाधीन तटबन्ध अन्तिम चरणमा पुगेको हो ।

‘जनताको तटबन्ध’ कार्यालय कञ्चनपुरका सिनियर डिभिजनल इञ्जिनियर श्रीप्रसाद शाहका अनुसार ती दुवै नदीमा १२ चरणमा निर्माणाधीन १२ किलोमिटर तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको हो ।

निर्माण कम्पनीले ती दुवै नदीमा फरक-फरक चरणमा तटबन्ध निर्माण गरिरहेकोमा सबै चरणको काम सकिन लागेको उनले जानकारी दिए ।

इञ्जिनियर शाहले ठेकेदार कम्पनीसँग गत आर्थिक वर्षभित्रै तटबन्धको काम सम्पन्न गर्नेगरी सम्झौता भएकामा वर्षाका समयमा निर्माण सामग्री ढुवानीमा समस्या भएपछि केही ढिलाइ भएको बताए ।

तटबन्ध कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका– ३ स्थित मोहना नदीमा सात सय मिटर, सोही नदीको कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका– ९ मा एक हजार तीन सय ५० मिटर, मोहना नदीमा पिआरटिडब्लु–१२ ‘बी’ प्याकेजअन्तर्गत तथा कञ्चनपुरको जोरायल टोलतर्फ पाँच सय २० मिटर तटबन्ध निर्माण सम्पन्न भएको छ ।

धनगढी–१३ स्थित श्रीलङ्कामा चार सय ३० मिटर, कृष्णपुर नगरपालिका–१, मोहना नदीमा छ सय मिटर बाँध र सात सय मिटर तटबन्ध निर्माण सम्पन्न भएको कार्यालयका इञ्जिनियर शाहले जानकारी दिए ।

गोदावरी नगरपालिकाको अर्जुन टोलमा खुटिया नदीमा एक हजार छ सय मिटर, वडा नम्बर ७ मा तीन सय मिटर र गौरीगङ्गा नगरपालिकाको उत्तर खैरेनीतर्फ आठ सय मिटर तटबन्ध निर्माण सकिन लागेको कार्यालय प्रमुखसमेत रहेका सिनियर डिभिजनल इञ्जिनियर शाहले बताए ।

उनले गोदावरी नगरपालिकाको धनचौरीमा एक हजार मिटर र धनगढी–१५ तरबरियामा चार सय मिटर तटबन्ध निर्माण केही दिनमा सम्पन्न हुने जानकारी दिए ।

वर्षायाममा मोहना र खुटिया नदीले बर्सेनि सयौं हेक्टर जमिन कटान गर्दै आएकामा जनताको तटबन्ध कार्यक्रमले नदी कटान तथा रोकथाम नियन्त्रणमा सहयोग पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्