
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी २०८४ को निर्वाचनपछि दोस्रो र तेस्रो ठूला दलले सरकार गठन गर्न नपाउने प्रावधान राखेर संविधान संशोधन हुन आवश्यक रहेको बताएका छन् ।
नेपाली कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिद्वारा वडा दशैं, दीपावली, नेपाल संवत्, छठ पर्वलगायत उपलक्ष्यमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा उनले बहुमत नभएको अवस्थामा जसले लोकप्रिय मत बढी ल्याउँछ, उसैले सरकार गठन गर्ने व्यवस्था हुनुपर्ने धारणा राखेका हुन् ।
महामन्त्री शर्माले भने, 'राजनीतिलाई स्थायित्व प्रदान गर्न स्थिर प्रधानमन्त्रीको खोजी जरुरी छ, आफूले दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न हुन्न भन्दै आए पनि त्यसमा स्वीकार हुन सकेको छैन । स्थिर प्रधानमन्त्री रहने गरी संविधान संशोधन गर्न आवश्यक छ ।'
पार्टी कार्यकर्तामा आएको निराशा चिर्न आवश्यक रहेको बताउँदै उनले नेपालमा केही भएको छैन भन्ने नभई, केही भएको छ, केही अझै गर्न बाँकी भनेर बुझाउन जरुरी रहेको धारणा व्यक्त गरे ।