३१ जेठ २०८३, आइतबार

एआई र रोबोटिक्समा आधारित पहिलो नेपाली उपन्यास 'सावर्णि' सार्वजनिक

असोज ५, २०८१
काठमाडौं
एआई र रोबोटिक्समा आधारित पहिलो नेपाली उपन्यास 'सावर्णि' सार्वजनिक

एआई र रोबोटिक्समा आधारित उपन्यास 'सावर्णि' सार्वजनिक भएको छ ।  ​

बालरोग विशेषज्ञ डाक्टर श्रीधर खनालद्वारा लिखित साइन्स फिक्सन 'सावर्णि' शनिबार कमलादीस्थित प्रज्ञा डबलीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । 

प्राध्यापक अभी सुवेदी, लेखक डा. रवीन्द्र समीर, लेखक सगुना शाह र खनालले संयुक्त रूपमा उपन्यासको लोकार्पण गरेका हुन् ।

लोकार्पण कार्यक्रममा बोल्दै डा. समीरले अब मानिसहरू 'सावर्णि' युगमा प्रवेश गर्न लागेको बताए ।

'अब हामी सावर्ण युगमा प्रवेश गर्न लागेको संकेत आइरहेको छ । छोराछोरी, बाबुआमा, हजुरबा हजुरआमा मोबाइलबिना खाना खानै नसक्ने अवस्था छ,' पुस्तकबारे डा. समीरले भने, 'हामीलाई एआईले नियन्त्रण गरिरहेको छ । कुनै लेख लेख्नुपर्‍यो च्याट जीपीटी छ । हाम्रो सृजनालाई एआईले नियन्त्रण गरिरहेको छ ।' 

यही विषयलाई डा. खनालले मीठो भाषा शैलीमा लेखेको डा. समिरले बताए । उनले यो उपन्यास चिकित्सकले लेखेजस्तो नलाग्ने समेत बताए । 'यो पुस्तक राम्रो लेखकले नै लेखेजस्तो छ,' उनले भने ।

लेखक शाहले पनि यदि मान्छेको अध्ययनको दायरा फराकिलो छ भने उसले पृथक किताब लिएर आउने बताइन् । 'सावर्णि'मा डा. खनालको अध्ययनको फैलावट समेत देखिएको बताइन् ।

उनले भनिन्, 'यो किताब हामी हामी लोप भइसकेपछिको कथा हो । यो किताब पढ्दै जाँदा म बाल्यकालमा गएँ ।' शाहले अबको प्यारेन्टिङ कस्तो गर्ने भनेर यस पुस्तकले सचेत गराउने बताइन् ।

मान्छेले सृजना गरेको कतिपय कुराले मान्छेलाई नै ध्वस्त बनाउने भन्दै प्राध्यापक सुवेदीले भने, 'यो उपन्यासले आशाको संकेत गर्छ । सावर्णिको जन्म नेपाली साहित्यको प्रयोगात्मक उपन्यासको रूपमा भएको छ ।'

लेखक डा. खनालले पनि सबैलाई धन्यवाद दिए । पेशाले  बालरोग विशेषज्ञ रहेका खनाल अस्तित्व फाउन्डेसनका संस्थापक समेत हुन् ।

यस फाउन्डेसनले क्यान्सर जस्ता घातक रोग लागेका बालबालिकाको उपचारमा सहयोग गर्दै आएको छ ।

'सावर्णि'बाट प्राप्त रोयल्टीबाट केही प्रतिशत रकम डा. खनालले यही फाउन्डेसनमार्फत समाज सेवामा लगाउने बताएका छन् ।

यस पुस्तकलाई बूकहिलले बजारमा ल्याएको हो ।

salt training

कमेन्ट गर्नुहोस्