
स्पेनिस ला लिगा फूटबलमा स्पानियोलविरुद्ध रियल म्याड्रिडले शानदार पुनरागमन गरेको छ ।
शनिवार राति घरेलु मैदान सान्टियागो बेर्नाबाओमा भएको खेलमा रियलले एक गोलले पछि परेको अवस्था उल्टाउँदै ४–१ गोल अन्तरको शानदार जीत निकोलेको हो ।
गोलकिपर थिबायट कोर्टोवसले आत्मघाती गोल गरेपछि रियल खेलको ५४ औँ मिनेटले एक गोलले पछि पर्यो । तर लगत्तै ५८ औँ मिनेटमा ड्यानी कार्भागालले गोल गर्दै खेल बराबरीमा ल्याए ।
यसपछि खेलको ७५ औँ मिनेटमा रोड्रिगो र ७८ औँमा भिनिसियस जुनियर गोल गरपछि रियल सहज जीततर्फ अघि बढ्यो । खेलको ९० औँ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै रियललाई ४–१ को फराकिलो जीत दिलाए ।
साविक विजेता रियल १४ अंकसहित लिगको दोस्रो स्थानमा छ भने स्पानियोल ७ अंकसहित १३ औँ स्थानमा छ । लिगको पहिलो स्थानमा भने १५ अंकसहित बार्सिलोना रहेको छ ।