०३ साउन २०८३, आइतबार
सरसर्ती २४ घण्टा

सरसर्ती २४ घण्टा : देशभर कहाँ के भए ?

असोज ६, २०८१
काठमाडौं
सरसर्ती २४ घण्टा : देशभर कहाँ के भए ?

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारी तहमा उक्त निर्देशन जारी गरेका हुन् । प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन निर्देशन जारी गरिएको हो ।
००००
दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच शनिबार भएको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।
००००
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री डा आरजु राणा शनिवार अमेरिकाको न्युयोर्क पुगेकी छिन् । स्थानीय समयअनुसार मध्याह्न क्यानाडाबाट उनी न्युयोर्क गएकी हुन् । 

मन्त्री राणालाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल, नियोगका कर्मचारी तथा स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए ।  
००००
प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ । 

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिवार साँझ राष्ट्रसङ्घ भवनमा भेटवार्ता भएको हो ।
००००
काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि  नेपाल पुलिस क्लबले जितेको छ । 

माल्दिभ्सको मालेमा सम्पन्न प्रतियोगिताको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालको विभागीय टोली पुलिसले उपाधि जितेको हो। 
००००
साफ यू–१७ फूटबल च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा पराजित भएको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको हो ।
००००
द एकेडेमी अफ मोशन पिक्चर आट्र्स एन्ड साइन्सेस (ओस्कार)द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औँ एकेडेमी अवार्डका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने चलचित्रको रुपमा ‘शाम्बाला’ छनोट भएको छ । 

समितिका अध्यक्ष राजु खत्री क्षेत्रीले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै चलचित्र ‘शाम्बाला’लाई नेपालको तर्फबाट ९७औँ एकेडेमी अवार्डको प्रतिस्पर्धामा सामेल गरिने जानकारी दिएका छन् ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएको गुनासो गर्दै पूर्ण समानुपातिक प्रणालीमा जानुपर्नेमा जोड दिएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार काठमाडौंमा गरेको राजनैतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।
००००
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी २०८४ को निर्वाचनपछि दोस्रो र तेस्रो ठूला दलले सरकार गठन गर्न नपाउने प्रावधान राखेर संविधान संशोधन हुन आवश्यक रहेको बताएका छन् । 

नेपाली कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिद्वारा वडा दशैं, दीपावली, नेपाल संवत्, छठ पर्वलगायत उपलक्ष्यमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा उनले बहुमत नभएको अवस्थामा जसले लोकप्रिय मत बढी ल्याउँछ, उसैले सरकार गठन गर्ने व्यवस्था हुनुपर्ने धारणा राखेका हुन् ।
००००
सहकारीमा देखिएका समस्या समाधान गर्न बनेका आयोग तथा समितिले दिएको सुझाव कार्यान्वयन नभएको पाइएको छ ।

विक्रम संवत् २०४७ सालदेखि अहिलेसम्म सहकारी समस्या अध्ययनका लागि १२ वटा आयोग, समिति र कार्यदल गठन भए पनि उनीहरूले दिएको सुझाव कार्यान्वयन नभएको पाइएको हो ।

२०८१ जेठ १५ गते प्रतिनिधिसभाबाट गठित सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय विशेष समिति दशौं हो ।
००००
घटस्थापना अगाडि नै सडक मर्मत सम्भार गरिसक्न विभागले निर्देशन दिएको छ । दशैं, तिहार र छठ पर्वमा यात्रुलाई सहज रूपमा गन्तव्यस्थलसम्म पुग्न सडकलाई घटस्थापनाअघि नै मर्मत गरिसक्न सडक विभागले निर्देशन दिएको हो ।
००००
नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ । 
क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्