१२ असार २०८३, शुक्रबार

इन्द्रजात्रा सम्पन्न

असोज ७, २०८१
काठमाडौं
इन्द्रजात्रा सम्पन्न
फाइल तस्वीर

इन्द्रजात्राको अन्तिम दिन हिजो साँझ भक्तपुरको परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा सम्पन्न भएको छ ।  पुलुकिसी जात्रासँगै भक्तपुरमा हिजैदेखि इन्द्रजात्रा पनि सम्पन्न भएको छ । 

स्थानीय लाकुलाछेँ टोलबाट शुरू भएको पुलुकिसी जात्रामा भक्तपुर बुलुचा, नासमना, वंशगोपाल, इटाछेँ, दरबार स्क्वायर, भोलाछेँ, महालक्ष्मीस्थान, थालाँछेँ, गछेँ, सूर्यमढी, तचपाल, इनाचो, गोल्मढी, सुकुलढोकालगायत स्थानको परिक्रमा गरिएको छ । 

भक्तपुरको लाकुलाछेँ टोलका समुदायले बाँसको मान्द्रोमाथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सुँडसमेत राखी पुलुकिसी तयार गर्छन् । पुलुकिसीलाई चारजनाकले बोक्ने र एकजनाले पुलुकिसीभित्र घण्टा बजाएर स्थानीय टौमढीमा रहेको काशी जगतनाथ भैरवको स्वरूप शक्तिशाली आकाश भैरव मन्दिर अगाडि तीनपटक घुमेर जात्रा शुरू गरिन्छ ।

देवराज इन्द्रका विश्वासिलो सेवक ऐरावत हात्तीका रूपमा लिइने पुलुकिसीलाई वंशगोपाल, इटाछेँ, चोछेँ, भोलाछेँलगायत दोबाटो, चौबाटोमा धान खुवाउने, दरबार स्क्वायरको डबलीमा आगो तपाउने, सूर्यमढीको तला तुन्छी (इनार) मा पानी खुवाउने प्रचलन रहेको छ । जात्राका क्रममा पुलुकिसीको सुँडले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार पुलुसिकी आउँदा सुँडले छुन्छ कि भनी मानिसहरू परपर भाग्ने गर्दछन् ।

हिजैदेखि पुलुकिसी जात्रासँगै भक्तपुर टौमढीको आकाश भैरवको अर्को स्वरूप शमशान भैरवको खट जात्रासमेत सम्पन्न भएको छ । खट जात्रामा नायखिङ (खड्गी समुदायको विशेष) बाजा बजाएर गुठी संस्थाबाट भैरवलाई विधिवत् रूपमा बलिसहितको पूजा गरी खट जात्रा शुरू गरिएको गुठी संस्थानकी प्रमुख खिमा वलीले जानकारी दिइन् । जात्रासँगै स्थानीय तल्लो टोलका मानन्धर समुदायले बुलुचास्थित ढुङ्गेधारा अगाडि दुईवटा याँः मता (आकाश दीप) बाली तीन दिन मनाइने मूपात्र जात्रासमेत सम्पन्न गरिएको हो । 

जात्रामा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीहरूलाई कुनै बात नलाग्ने स्थानीय बासिन्दाको मान्यता रहँदै आएको छ । त्यसै कारण आज पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मूपात्र जात्रा शुरू गरिन्छ ।

जात्रामा तेखाचोका मानन्धरहरूले दुईवटा यामता ल्याउने र  बुलुचाहिटी सामुन्ने चखुन्चाफल्चातिर अभिमुख गरी यामता बालेर भैरवनाथको जात्रामा सरिक भई भैरवको रथमा राखी जात्रा सञ्चालन गरिएको स्थानीय तौमढी युवा क्लबका पूर्वअध्यक्ष विजयप्रसाद धौभडेल बताउँछन् ।

त्यस दिन भैरवनाथको मन्दिरको भित्तामा झुन्ड्याइराखेको पुलु भैलद्यः (मान्द्रोमा चित्रित मसान भैरव)को जात्रा पनि चलाउने उनले जानकारी दिए । ठाउँ–ठाउँमा छ्वाली बाल्दै नीलो पहिरनमा सेतो वर्णको पुलुकिसीको जात्रा पनि मनाइएको छ । भैरवनाथ मन्दिरको मूलद्वारबाट खड्ग उठाएर बाहिरिँदै धिचासहित भएर मूपात्रको जात्रा पनि चलेको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्